सुर्खेत । कर्णाली प्रदेशमा रहेका प्रत्येक प्रहरी युनिटमा नागरिक सहजकर्ता खटाइएको छ । प्रहरीको ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान –२०८०’ अन्र्तगत नागरिक सहजकर्ता खटाइएको हो ।
कर्णालीमा प्रहरीका विभिन्न दुई सय ४४ प्रहरी युनिटहरु छन् । ती युनिटहरुमा एक–एक जना नागरिक सहजकर्ता खटाइएको प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिमप्रसाद ढकालले बताए । उनका अनुसार आईतबार विहान ११ बजे एकै समयमा सबै युनिटमा नागरिक सहजकर्ताको व्यवस्था गरिएको हो । अबदेखि हरेक दिन उनिहरुले सेवाग्राहीको काममा सहजीकरण गर्नेभएका छन् ।
नागरिक सहजकर्ता किन?
प्रहरी युनिटहरुमा सर्वसाधारण नागरिकको कामकाजलाई सजिलो बनाउन नागरिक सहजकर्ता खटाइएको डिआईजी ढकालले बताए । ‘प्रत्येक प्रहरी युनिटमा एक जना व्यानर लगाएको सहजकर्ता खटिन्छन् । उनिहरुले कार्यालयमा आएका जोकोहीलाई सोधपुछ गर्छन् ।’ डिआईजी ढकालले भने, ‘सेवाग्राहीको काम अनुसार सम्बन्धित फाँट वा व्यक्तिसँग भेट गराई काम गर्ने वातावरण बनाईदिन्छन् ।’
प्रहरी कार्यालयमा आफ्नो सुरक्षा वा कुनैपनि किसिमबाट पीडित व्यक्तिहरु प्रहरीका सेवाग्राही हुन्छन् । ती व्यक्तिहरुका हरेक कामको सहजीकरण गर्नका लागि नागरिक सहजकर्ता खटाइएको बताइएको छ ।
प्रहरीमा काम गर्नको लागि त्यसबाहिरका कोहीपनि नेता, दलालीलगायत अन्य व्यक्तिको प्रयोग नभै सेवाग्राहीले सिधैं आफ्नो काम गर्न सहज होस् भन्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको डिआईजी ढकालले बताए ।
नागरिक सहजकर्ताका लागि युनिट अनुसार प्रहरी हवल्दार र जवानहरुलाई खटाइएको छ । उनिहरु हरेक दिन सार्वजनिक कार्यालय समय (१० देखि ५ बजे)सम्म प्रहरी युनिटको मुख्य प्रवेशद्वारमै सहजकर्ताको रुपमा खटिनेछन् ।