सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको पर्यटन पूर्वाधार अलपत्र परेका छन् । पूर्वाधार निर्माणको ठेक्का लिएको कम्पनीहरुले समयमा काम नगर्दा निर्माणाधीन संरचना अलपत्र परेका हुन् । कार्यालयबाट पेस्की रकम समेत लिएर काम सुरु गरेका निर्माण कम्पनी अहिले कार्यालयको सम्पर्कमा नभएको बताईएको छ ।
निर्माणाधीन रारा पर्यटन पदमार्गको काम अझै सकिएको छैन । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पदमार्ग निर्माण हुन नसकेको हो । खानी थोदुुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको उक्त आयोजना निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको बताइएको छ ।
डिभिजन वन कार्यालय मुगुका अनुसार रारा पर्यटकीय पदमार्ग निर्माणका लागि सङ्घीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत ४६ करोड विनियोजित बजेट भएको थियो । त्यसमध्ये कम्पनीले ४५ करोड २९ लाख १० हजार ७९ रुपैयाँमा २०७९ असारमा निर्माण गर्न सम्झौता गरेको थियो ।
कम्पनीले आठ करोड रुपैयाँ पेस्की रकम लिईसकेको छ । कार्यालय प्रमुख अम्मर शाहले निर्माण कम्पनीले २०७९ असार २५ गते पेस्की समेत लिएको जनाए । कार्यालयका अनुसार कम्पनीले पेस्की रकम बराबरकै काम गर्न सकेको छैन ।
निर्माण कम्पनीले गैर स्थानीय सामाग्री खरिद गर्न र निर्माण कार्य अगाडि बढाउन पेस्की लिएको एक वर्ष सम्ममा पनि सोचे अनुरूप काम नभएपछि पेस्की फिर्ताको लागि बारम्बार चिठी पठाएको कार्यालय प्रमुख शाहले बताए ।
यस्तै, रारा पर्यटकीय पूर्वाधार साइकल लेनको काम पनि अलपत्र परेको छ । एक किलोमिटर निर्माण कार्य २०७७ देखि अलपत्र छ । शंकर मालिका कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । सो कम्पनीले पहिलो किस्ता ८० लाख रुपैयाँ पेस्की लिईसकेको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय मुगुका प्रमुख अम्मर शाहले बहुवर्षीय योजना ०८२ सालसम्म सक्नुपर्ने भएपनि आजसम्म ठेक्का कम्पनीको लापरबाहीले काम अगाडि नबढेको र निर्माण कम्पनीको अहिले सम्म सम्पर्कमा नआएको जनाए ।
रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएका उक्त निर्माण कार्यमा छिटोछरितो काम नभएको उनको भनाई छ ।