काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन् । केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ । योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ ।
यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।
टोपबहादुर रायमाझी भने फरार छन् । मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको थियो ।
तर उनी फेला परेका छैनन् । उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनको खोजी गर्न टोली परिचालन गरेको छ । उनी भारत पुगेको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रहरीले उनीहरूमाथि प्रहरीले संगठित ठगी मुद्दामा अनुसन्धान अघि बढाएको थियो । आफूहरूलाई भुटानीको नाममा अमेरिका पु¥याउने भन्दै ठगी गरेको भन्दै हालसम्म प्रहरीमा एक सय ५० जनाले जाहेरी दिएका छन् ।
प्रहरीको अनुसन्धानबाट उनीहरूले ५ सय जना नेपालीहरूलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर करिब १ अर्ब रुपैयाँ ठगी गरेको जनाएको दाबी गरेको छ । पाण्डे गृहसचिव हुँदा गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण थिए । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरीको दाबी छ ।
भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको थियो ।
उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो ।
कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्यसचिव थिए । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन अझै सार्वजनिक छैन । तर, ठगी गर्ने गिरोहले त्यही प्रतिवेदन हात पारेर नेपालीलाई नक्कली शरणार्थी बनाएको प्रहरीको दाबी छ ।