सुर्खेत । कर्णाली प्रदेश सभा सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । दोस्रो कार्यकालका लागि सभा सञ्चालनको भएको तीन महिना पछि कार्यव्यवस्था समिति गठन गरिएको हो ।
सभाको तेह्रौँ बैठकमा सभामुख गुरुङले कार्य व्यवस्था परामर्श समिति गठन भएको घोषणा गरिन् । सभामुखको नेतृत्वमा गठन हुने समितिको सदस्यमा कल्यानी खड्का, टेकराज पछाई, देवेन्द्रबहादुर शाही, रणसिंह परियार, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन् । समितिमा उपसभामुख एशोदा न्यौपाने र आन्तरिक मामिला तथा कानुनी मन्त्री कृष्ण जिसी पदेन सदस्य छन् ।
नियमावलीले बढीमा ११ जना सदस्य रहने व्यवस्था गरेको छ । तर गठित कार्यव्यवस्था समिति भने ९ सदस्यीय मात्रै छ ।
बैठकको प्राथमिकता र समयावधि निर्धारण गर्ने कार्यव्यवस्था समिति तीन महिनासम्म सर्वदलीय बैठकबाट कामचलाउ भैरहेको थियो । कर्णाली प्रदेशसभा नियमावलीको परिच्छेद–२१ मा प्रदेश सभाको समितिहरु सम्बन्धी व्यवस्था गरिएको छ ।
संविधानको धारा १९३ बमोजिम प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति, विशेष समिति र आवश्यकता अनुसार अन्य समिति गठन गर्नुपर्छ ।
विषयगत समिति अन्र्तगत कर्णालीमा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति रहेका छन् । यी समितिहरु सभामुख गुरुङले आजका मितिसम्म गठन गर्न सकेकी छैनन् ।
नियमावलीको नियम १५७ बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको तीन महिनाभित्र सभामुखले प्रत्येक समितिका सभापतिको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । त्यस्तो निर्वाचन हुने सूचना प्रदेश सभा सचिवले ४८ घण्टा अगावै दलका मुख्य सचेतक र सम्बन्धित समितिका सदस्यलाई दिनुपर्ने हुन्छ । तथापी, यी समितिहरु गठन हुन अझै बाँकी छन् ।
प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक गत पुस १८ गते बसेको थियो ।
याे पनिः