गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्।
प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएसँगै उनी पदमुक्त भएका हुन्।
मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका २२ जना सांसद र राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।
एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गरेका थिए।
अब ठूलाे दलकाे हैसियतमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका लागि दाबी पेश हुनेछ ।
संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम अधिकारी मुख्यमन्त्री बनेका थिए । अब सभामा बढी सदस्य भएकाे दल नेपाली कांग्रेसका कुनै एक सांसदलाइ प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन्। त्यसरी नियुक्त भएका मुख्यमन्त्रीले आफु नियुक्त भएकाे ३० दिनभित्र विश्वासकाे मत जुटाउनु पर्नेछ । त्यसअवस्थामा पनि विश्वासकाे मत जुट्न नसकेमा मुख्यमन्त्रीकाे सिफारिसमा प्रदेश प्रमुखले संसद विघटन गरी अर्काे निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।