काठमाडौं । काठमाण्डौंको पशुपतिनाथदेखि दैलेखको पञ्चकोशी तीर्थ यात्राको रुपमा नयाँ गन्तव्य तय गरिएको छ । धार्मिक आस्थाका केन्द्रका रुपमा रहेका यी स्थानलाई तीर्थयात्रासँगै पर्यटकीय सम्भावनासँग पनि जोडिएको छ ।
कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारीको नेतृत्वमा रहेको टोलीले पहिलो यात्रा आजदेखि सुभारम्भ गरेको हो । भण्डारी दैलेखको निर्वाचन क्षेत्र नं. २ (क)बाट निर्वाचित सांसद हुन् । भण्डारी र मनघरी फाउण्डेसनका अध्यक्ष एवंम् फोटो पत्रकार बरतबन्धु थापाले आईतबार विहान पशुपतिनाथदेखि यात्रा सुभारम्भ गरेका हुन् ।
पशुपतिनाथदेखि सुरु भएको गन्तव्य त्रिवेणी देवघाट, बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, दाङस्थित अम्विकेश्वरी, नेपालगञ्जको बागेश्वरी, सुर्खेतको देउतीबज्यै, काँक्रेविहार र दैलेखको पञ्चकोशी क्षेत्र अन्र्तगत कोटीला, शीरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका, तल्लो डुंगेश्वर लगायतका क्षेत्र अवलोकन हुने जनाइएको छ ।
धार्मिक तथा ऐतिहासिक रुपले महत्व बोकेको दैलेखको पञ्चकोशी तीर्थस्थललाई पशुपतिनाथसँग जोड्न यात्रा सुभारम्भ गरिएको सांसद भण्डारीले बताए । उनले कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेकोले यसको प्रचार प्रसारका लागि यस किसिमका गन्तव्य निर्माण गरिनुपर्ने बताए । गन्तव्यको उचित प्रचार–प्रसार नहुनु र पर्याप्त पुर्वाधार तयार नहुनु नै आशातित पर्यटक नबढ्नुको मुख्य कारण रहेको उनले बताए ।
यात्रा शुभारम्भ कार्यक्रममा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य अमरबहादुर थापा, दिक्पाल शाही, दिपा शर्मा, सिता राना, सुर्यकुमारी श्रेष्ठ र कर्णाली प्रदेशसभा सदस्य जानकी सिंह, ईन्द्राकुमारी शाही, कृष्णकुमार बिसी, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।
यो गन्तव्यका लागि मनघरी फाउण्डेशन, दैलेखी सेवा समाज काठमाण्डौं, दुल्लु नगरपालिका दैलेख, भैरवी गाँउपालिका दैलेख, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश लगायतको सहकार्य रहेको छ ।
यात्रा पश्चात संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्वीर र भिडियो प्रदर्शनी गरिने मनघरी फाउण्डेशनले जनाएको छ ।