सुर्खेत। मार्च ८ तारेखलाई अन्र्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउने गरिएको छ । अन्र्तराष्ट्रियस्तरमै मनाइने यो दिवसलाई नेपालमा पनि उत्तिकै प्राथमिकतका साथ मनाइएको छ ।
नारी दिवस मनाउने क्रममा कालीकोटको एक तस्वीर भने अहिले आलोचनाको विषय बनेको छ । कार्यक्रमका सबैजसो अतिथि पुरुष देखिएपछि आलोचना बढेको हो । नारी दिवसको दिन पुरुषहरु मात्रै अतिथि आशनमा देखिनु दिवसकै अवमूल्यन भएको आलोचकहरुको भनाई छ । नारी लक्षित उत्सवकै दिन पुरुषको सहभागिता मात्रै देखिनु नारी दिवसलाई नै गिज्याईरहेको स्थानीय ईश्वरा शाहीको आलोचना छ ।
११३ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा खाँडाचक्र नगरपालिकाले देउडा प्रतियोगिता आयोजना गरेको थियो । जिल्लास्थित सामाजिक विकास कार्यालय, सेभ द चिल्ड्रेन, युनिसेफ, ईन्टरनेश्नल फेलेसिन नेपाल (आईएनएफ), हेल्भटास, प्लान, किर्डाक लगायतका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको कार्यक्रम आयोजनाका लागि सहयोग रहेको थियो ।
नगरपालिकाको आयोजना भएपनि कार्यक्रमलाई बृहतरुप दिँदै जिल्लास्तरीय कार्यक्रम अनुसार तयारी भएको नगरउपप्रमुख गणेश बहादुर शाहीले बताए ।
नगरप्रमुख कमलबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि धनजितबहादुर शाही थिए । उपप्रमुख शाहीका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गैरसरकारी संघ संस्थाको प्रमुखहरुको सहभागिता रहेको थियो ।
यस वर्ष मनाईएको नारी दिवसको नारा ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ रहेको थियो । तर, उक्त कार्यक्रम अन्र्तगत देउडा गित प्रतियोगिता, गजल, कविता वाचन लगायतका कार्यक्रमहरु गरिएको थियो ।
किन महिला अतिथि भएनन्?
खाँडाचक्र नगरपालिकाले महिला अतिथिका लागि आमन्त्रण गरिएको तर, उपस्थिति नभएपछिको यो अवस्था सिर्जना भएको अधिकारीहरु बताउछन् । नगरउपप्रमुख शाहीले आमन्त्रित महिला अतिथिहरुको उपस्थिति नहुँदा आलोचना भोग्नुपरेको बताए ।
स्थानीय तहमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा फरक–फरक लिङ्ग र समुदायको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, खाँडाचक्र नगरपालिकामा भने दुवै जना पुरुष छन् । नगरप्रमुख कमलबहादुर शाही स्वतन्त्र तर्फबाट र उपप्रमुख गणेशबहादुर शाही नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी भएका हुन् ।
नगरप्रमुख र उपप्रमुख दुवै पुरुष भएकोले पनि यस्तो अवस्था आएको उपप्रमुख शाहीको भनाई छ ।
कार्यक्रमको लागि आमन्त्रण तथा व्यवस्थापनको जिम्मा खाँडाचक्रको महिला विकास शाखाले लिएको थियो । त्यसअनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिको उपप्रमुख मीना रावत (विक)लाई आमन्त्रित गरिएको महिला विकास निरीक्षक रीताकुमारी पाण्डेले बताईन् । ‘उपप्रमुख पार्टीको कार्यक्रममा गृहपालिका पचालझरना गएकोले जिसस प्रमुखलाई नै प्रमुख अतिथि बनाउनुपर्ने भयो ।’ पाण्डेले भनिन् । संयोगबस प्रमुख अतिथि बनेका जिसस प्रमुख पनि पुरुष नै थिए ।
कार्यक्रममा अन्य अतिथिको रुपमा पार्टीका महिला प्रतिनिधी, गैरसरकारी संघ संस्थाको प्रतिनिधीहरुलाई आमन्त्रण गरिएपनि उनिहरुको अनुपस्थितिका कारण आलोचना भोग्नुपरेको उनिहरुले बताए ।
कार्यक्रम अवधिभर गैरसरकारी संस्थाको प्रतिनिधित्व गर्दै किर्डाक नेपालकी प्रतिनिधिले स्वागत मन्तव्य आफ्नो धारणा व्यक्त गरेकी थिईन् । यस्तै, कार्यक्रमको सहजीकरण महिला विकास निरीक्षक पाण्डेले गरेकी थिईन् ।
कायर्क्रमका अन्य सहभागी तथा प्रतियाेगीहरू महिला भएपनि अतिथि आशनग्रहणमा भने महिलाकाे प्रतिनिधित्व कम थियाे । जसले गर्दा आलाेचना समेत बढेकाे बुझिएकाे छ।