सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को कर्णाली प्रदेश कमिटीको चौथौं पूर्ण बैठक सम्पन्न भएको छ । फागुन २ र ३ गते वीरेन्द्रनगरमा बसेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको प्रदेश अध्यक्ष अम्मर बहादुर थापाले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
वर्तमान सरकारले संविधानमाथी प्रहार गर्ने कार्य गरेको भन्दै यसलाई तत्काल रोक्न तथा एमाले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईले निरंकुश राजतन्त्र फर्काउने हर्कत गरेकोले यसलाई बन्द गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रदेश अध्यक्ष थापाले बताए ।
आर्थिक संकट, महंगी, कालोबजारी र भ्रष्टाचार निर्मूल गर्न तत्काल कार्यक्रम ल्याउन सरकारलाई दवाव दिने । कृषि उत्पादन बजारीकरण र किसान हितका कार्यक्रमहरु घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ ।
महिला तथा दलित समुदायहरुमाथि गरिएका हिंसाजन्य घटनाप्रति भत्र्सना गर्दै यस्ता घटनाको अन्त्य गर्न तीन वटै तहका सरकारसँग माग गर्ने । केही दिनअघि गएको भूकम्पका कारण हुम्ला, मुगु, कालीकोट लगायतका जिल्लामा भएको भौतिक क्षतीको मूल्यांकन गरी क्षतीपूर्ती दिन र बाढीपहिरोबाट पीडित समुदायलाई उचित राहत व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय भएको अध्यक्ष थापाले बताए ।
उनका अनुसार बैंक तथा लघुवित्तीय संस्थाको चर्को व्याजदरको ऋण र मिटरव्याजी दलालको हर्कतले सर्वसाधारण र किसानमाथी गरिएको शोषणको विरोध गर्दै यसलार्य रोक्न माग गर्ने । कर्णाली करिडोर र सुर्खेतदेखि कर्णालीका सबै जिल्ला जोड्ने सडकको तत्काल स्तरउन्नती गरी यातायात सेवालाई व्यवस्थि तगर्न र सडक दुर्घटना न्यूनिकरण गर्न माग गर्नुका साथै कर्णालीको जमिन, जंगल, जल र जडिबुटीमा आधारित नीति तथा कार्यक्रम तयार गरी रोजगारी सिर्जन ागर्न सरकारसँग माग गर्ने निर्णय गरिएको थापाले जनाए ।
पार्टी सुदृढीकरण विशेष अभियान अन्तरगत बैचारिक प्रशिक्षण सांगठनिक परिचालन र जनजागरण सम्बन्धी कार्यहरु गर्ने निर्णय गरेको छ । फागुन १५ गतेसम्म पार्टीका सबै संगठनहरुको बैठक सम्पन्न गरी कमिटी अद्यावधिक तथा नविकरण लगायतका कामहरु गर्नुका साथै फागुन १३ देखि १५ गतेसम्म प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष थापाले जनाए ।
बैठकबाटै प्रदेश कमिटीको आर्थिक विभाग प्रमुखमा ठगेन्द्रप्रकाश पुरी, कृषि विभाग प्रमुखमा कृष्णबहादुर विसी, उद्यमशिलता विभाग प्रमुखमा उदय बोहरा र प्रचार विभाग प्रमुखमा वसन्तकुमार विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।
पार्टीका उपमहासचिव तथा प्रदेश ईन्चार्ज प्रकाश ज्वालाको प्रमुख आथिथ्यतामा बैठक बसेको थियो ।