सुर्खेत । कर्णाली प्रदेश सरकार सञ्चालनका लागि बनेका कार्यविधिहरुको कार्यान्वयनमा भने ख्याल गरिएको छैन । मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले ‘कर्णाली प्रदेश मन्त्रिपरिषद् सम्बन्धि कार्यविधि, २०७४’ लाई ख्याल नगरिएको पाइएको हो । मन्त्रिपरिषदका कार्यलाई थप व्यवस्थित गर्न यो कार्यविधिलाई पछ्याउनुपर्ने हुन्छ ।
कार्यविधि अनुसार मुख्यमन्त्री र अन्य मन्त्रीको शपथ सम्पन्न भएपछि मन्त्रिपरषिद्को पहिलो बैठक सम्पन्न गरेपछि मात्रै मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा बहाली गर्न जानुपर्दछ । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, प्रदेश सरकार (कार्यविभाजन) नियमावली, र सार्वजनिक लिखित प्रमाणीकरण नियमावली पारित गर्नुपर्दछ । सोही कार्यविधि बमोजिम मन्त्रिपरिषद्को पहिलो बैठकबाटै एकजना मन्त्रीलाई प्रदेश सरकार मन्त्रिपरिषद्को प्रवक्ता तोक्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
यद्यपी, मुख्यमन्त्रीमा शर्मा र अन्य दुई मन्त्रीले गत पुस २८ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए । शर्मा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक माघ ४ गते बस्यो । तर, उक्त बैठकले प्रवक्ता तोकेन । उसो त मन्त्रिपरिषद्को निर्णयलाई प्रवक्ता मार्फत सार्वजनिक गरिनुपर्नेमा प्रदेश सचिवले निर्णय सार्वजनिक गरेका थिए ।
माघ ११ गते मौजुदा मन्त्रिपरिषद्ले पूर्णता पाइसकेपछि पटक-पटक मन्त्रिपरिषद्का बैठक सञ्चालन भैसकेपनि कार्यविधि भने अझै कार्यान्वयन भएको छैन ।
मुख्यमन्त्री शर्मा प्रवक्ता नियुक्तीमा अझै स्पष्ट भै नसकेको प्रतिक्रिया दिएका छन् । ‘हामीले के बोल्ने भन्ने कुरामै प्रष्ट भैसकेका छैनौं । के बोल्ने? के गर्ने? भन्ने कुरामा नापेर बोल्नुपर्ने भएको छ । त्यसैले हामीले प्रवक्ता तोक्न सकेका छैनौं ।’ मुख्यमन्त्री शर्माले भने ।
भिडियाेमा हेर्नुहाेस्ः