सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आज पूर्णता पाएको छ । प्रदेश सरकारको नेतृत्व लिएका मुख्यमन्त्री राजकुमार शर्माले आज मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेका हुन् ।
शर्मा गत पुस २७ गते नै मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री शर्मालाई आफ्नो टिममा मन्त्री नियुक्त गर्नै करिब आधा महिना लाग्यो ।
शर्मा मन्त्रिपरिषद्मा एक्लै त भएनन् । उनले आफुसँगै पद तथा गोपनीयताको शपथ खुवाउन विना विभागीय मन्त्रीमा दुई जनालाई नियुक्त पनि गरे । उतिबेला एमालेका विनोद कुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीलाई मन्त्री नियुक्त गरिएको थियो ।
शर्माले आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद कुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई, र जित बहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रीमा मंगलबहादुर शाहीलाई, आन्तरिक मामिला तथा कानून मन्त्रीमा कृष्ण जिसी र भिम प्रकाश शर्मालाई भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुको ६ बजे प्रदेश प्रमुख तिलक परियारद्वारा पद तथ गोपनीयताको शपथ खुवाउने तयारी भैरहेको छ ।