सुर्खेत । कर्णाली प्रदेशको सभामुख पदका लागि खड्ग बहादुर पोखरेल र नन्दा गुरुङको उम्मेदवारी परेको छ । कांग्रेसबाट पोखरेल र सत्तारुढ दलका तर्फबाट नेकपा एमालेकी गुरुङले उम्मेदवारी दिएका हुन् ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १४ सिट छ । नेकपा एमाले १० सिट सहित संसदको तेस्रो स्थानमा छ । तर, १३ सिटको माओवादी, १÷१ सिटको राप्रपा र समाजवादी सहित एमाले उम्मेदवार गुरुङको समर्थनमा २५ मत देखिन्छ । तथ्यांकलाई हेर्दा कांग्रेस उम्मेदवार पराजित हुने निश्चित छ ।
पराजितको जानकार भएको कांग्रेसले उम्मेदवारी दिनुको कारण बारे जनचाँसो देखिन्छ । यसको प्रतिक्रिया दिँदै उम्मेदवार पोखरेल भन्छन्, ‘लोकतान्त्रिक पद्दती अनुसार कांग्रेस निर्वाचन प्रक्रियामा सहभागी बन्नुपर्छ भन्ने हाम्रो धारणा हो । निर्वाचनमा हारजित भएपनि संसदीय अभ्यासमा प्रतिस्पर्धा गर्न खोजिएको हो ।’
उनले थप अगाडी भने, ‘आफ्नो दलभित्रको मत खेर फाल्नु वा अरु कसैलाई दिनुभन्दा आफ्नै उम्मेदवारलाई दिँदा उचित ठानेर हाम्रो दलका तर्फबाट उम्मेदवारी रहेको हो ।’
पोखरेल सुर्खेत क्षेत्र नं. १ प्रदेश सभा (१) बाट निर्वाचित सांसद हुन् उनको प्रस्तावकमा प्रदेश सभा सदस्य पूर्णबहादुर खत्री र समर्थनमा विजया बुढा छन् ।
यस्तै, नन्दा गुरुङ सुर्खेतबाटै समानुपातिक सांसद हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलको नेता यामलाल कँडेल र मुख्यमन्त्री एवंम् नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा समर्थक छन् ।