सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री र दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनिहरुलाई बिहिबार शपथ खुवाएका हुन् ।
मुख्यमन्त्रीमा राजकुमार शर्मा र बिना विभागीय मन्त्रीमा विनोद कुमार शाह र मंगलबहादुर शाहीले शपथ लिएका हुन् ।
माओवादी केन्द्रका मुख्यमन्त्री शर्मालाई २५ सांसदको समर्थनमा प्रदेश प्रमुख तिलक परियारले बुधबार नियुक्त गरेका थिए । मुख्यमन्त्रीलाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १/१ गरि जम्मा २५ जना सांसदको समर्थन रहेको छ । जसमध्ये नेकपा एमालेबाट दैलेखका विनोद कुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही मन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले कर्णालीमा वार्षिक १० हजार जनालाई रोजगारी दिईने बताए । त्यसका लागि उनले हस्ताक्षर समेत गरेका छन् ।
‘कर्णालीबासीले सुःख र खुशी प्राप्त गर्नुछ । सुःखी आर्थिक सम्पन्नतासँग जोडिएको छ भने खुशी सामाजिक न्यायसँग जोडिएको छ । यो दुई वटा अभिभारा पूरा गर्न पहिलो शत्रु गरिबीलाई देखिएको छ ।’ मुख्यमन्त्री शर्माले भने, ‘यसलाई अन्त्य गर्न कर्णाली सम्वृद्धिको अभियान अन्तरगत कर्णालीमा प्रतिवर्ष कम्तिमा १० हजार रोजगारी सिर्जना गर्न नीतिगत निर्णय आवश्यक देखिएको छ । त्यसका लागि पहिलो निर्णय लिएको हुँ ।’
कर्णालीमा बजेटको अपुगता र प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्रहरुका कारण कर्णाली पिछडिएको भन्दै मुख्यमन्त्री शर्माले कर्णाली सुनको डल्लोलाई सुन्दर गहना निर्माण गर्ने प्रतिवद्धता जनाए ।
उनले आगामी केहीदिनमै मन्त्रीपरिषद्लाई पूर्णता दिने बताए । गठबन्धनको पूर्वसहमति अनुसार मन्त्री नियुक्त गरिने उनले संकेत गरे । मुख्यमन्त्री सहित ८ वटा मन्त्रालय रहेको कर्णालीमा मुख्यमन्त्रीका लागि शर्माको समर्थन गर्दा एमाले र माओवादीबीच ३÷३ वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भएको थियो ।