सुर्खेत। सुर्खेतमा ‘ए डिभिजन नकआउट’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल संघ सुर्खेतको आयोजना प्रतियोगिता आयोजना गरिएको हो ।
आयोजना पुस २३ गतेदेखि प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा आयोजना हुनेछ । ‘ए डिभिजन’को फुटबल प्रतियोगिता सुर्खेतमै पहिलो पटक आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष रबिन्द्रजंग चन्दका अनुसार प्रतियोगितामा १२ वटा क्लवहरु सहभागी हुन पाउने छन् । यस अघि २०७८ सालमा आयोजित जिल्ला लिगमा सहभागी क्लवहरुले मात्र अहिले भाग लिन पाउने भएका छन् ।
जसअनुसार प्रतियोगितामा एबीसी स्पोर्ट्स क्लब, फ्रेन्डसीप क्लब, ब्वाइज युनियन, वीरेन्द्रनगर स्पोर्ट्स क्लब, शृजनशील युथ क्लब, शिरमोर युथ क्लब, काँक्रेबिहार क्लब, बाबियाचौर स्पोर्ट्स क्लब, जीवनज्योती युथ क्लब, स्काई युथ क्लब, जिअल क्लब, भैरबी युथ क्लब लगायत टीमको सहभागिता रहने छ ।
फुटबल आयोजना पुस २३ देखि ३० गतेसम्म सञ्चालन हुने संघका महासचिव सुनिल देवकोटाले जनाए ।
खेल प्रतियोगितामा सहभागी खेलाडीहरुको अनिवार्य वीमा गर्न समेत अपिल गरिएको छ । त्यसका लागि क्लवहरु स्वयंमले खेलाडीको वीमा गर्नुपर्ने महासचिव देवकोटाले बताए ।
संघका उपाध्यक्ष ललित शाहीले संघले पहिलोपटक आफ्नै आर्थिक श्रोतबाट प्रतियोगिता संचालन गर्न लागिएको बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुने समूहले एक लाख, दोश्रोले ५० हजार, म्यान अफ द म्याचका लागि एक हजार, बेष्ट प्लेयर पाँच हजार नगद पुरुस्कार, मेडल र प्रमाणपत्र पाउने छन् ।