सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयनका लागि शनिबार निर्वाचनको कार्यतालिका थियो । मुख्यमन्त्री जीवनबहादुर शाही र जाजरकोटबाट निर्वाचित राजीवविक्रम शाहबीच दलको नेता को बन्ने भन्ने विषय निर्वाचनले तय गर्ने थियो । तर, संसदीय दलको नेताका लागि सामाजिक संजालमा व्यापक प्रचार गरेका शाहले अन्ततः प्रस्तावक र समर्थक नपाउने अवस्था रह्यो भने शाही नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत भए ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ जना सांसद छन् । विचार समूहको हिसावले संस्थापन समूहमा ११ जना छन् भने इतर समूहमा तीन जना छन् । प्रदेशसभा सदस्यको टिकट पाएपछि राजीवले आफू कर्णालीको मुख्यमन्त्रीको आकांक्षी नभएको भन्दै एक टेलिभिजनमा अन्तरवार्ता पनि दिए । जव उनी प्रदेशसभा सदस्यमा विजयी भए अनि दलको नेता हुँदै मुख्यमन्त्री बन्ने सपना देख्न थाले ।
दलको नेता बनाइदिन उनले काठमाडौंमा धेरै नेताको दैलो चहारे । समातुपातिकतर्फको प्रमाणपत्र बुझ्न गएका सांसदहरुसहित काठमाडौंमा उपलब्ध कर्णालीका सांसदहरुलाई काठमाडौंमा भेला गराए । कर्णाली प्रदेशसभामा निर्वाचित सांसदहरुलाई राजीवसँग भेट गराउने कामको सहजीकरण भने कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रदेशसभा सांसद जानकी सिंहले गरेकी थिइन् ।
‘उहाँ (राजीव)ले काठमाडौंस्थित घरमै बोलाउनु भएको थियो, मुख्यमन्त्री बन्ने हो दलको नेतामा सहयोग गर्नुहोस् भन्नु भएको थियो,’ सहभागी एक सांसदले भने, ‘पार्टी सभापति, उपसभापतिलगायत शीर्ष नेतृत्वले भएमा सहयोग गरौंला भनेर पनि हामीले भनेका थियौं ।’
सहजीकरण गर्ने सांसदबाट काठमाडौं घरमा आएका अधिकांस सहभागी सांसदले भोट दिने आवश्वासन राजीवले पाएका थिए । प्रदेश कार्यसमितिले निर्वाचनको मिति तय गरेसँगै दलको नेतामा उम्मेदवारी दिन उनी सुर्खेत आएका थिए । शुक्रबार दिउँसोसम्म उनी आफू दलको नेताको उम्मेदवारकै हैसियतले सांसदहरुलाई फेसबुकमार्फत शुभकामना दिइरहेका थिए भने अर्कोतर्फ समर्थक र प्रस्तावकको खोजीमा पनि थिए ।
संस्थापन इतर समूहका तीन जनालाई उनले समर्थक र प्रस्तावक बनिदिन हुनले अन्तिम समयसम्म आग्रह गरे । संस्थापन इतर समूहका एक सांसदका अनुसार दलको नेता चयनका लागि आठ जना सांसदको समर्थन चाहिन्छ । हामी तीन जनाले भोट दिएर उनी जित्ने अवस्था थिएन् । ‘त्यसैले समर्थक, प्रस्तावकसहित पाँच जना संस्थापन समूहका सांसद तयार गर्नुभयो भने हामी खुलेर समर्थन गछौं, भोट हाल्छौं भनेका थियौं,’ उनले भने, ‘आफ्नै समूहबाट समर्थक र प्रस्तावक नपाउनेलाई हामीले कहाँबाट समर्थन गर्नु ?’
ति सांसदका अनुसार अन्तिम समयसम्म पनि आफ्नो समर्थक र प्रस्तावक मात्रै भएपनि खोजी दिन प्रदेश कार्यसमितिका पदाधिकारीसँग पनि आग्रह गरेका थिए । ‘दलको नेतामा चुनाव लड्नका लागि यति धेरै तयारी गरेँ, काठमाडौंमा आश्वासन दिएकाहरुले पनि अहिले साथ छोडे, समर्थक र प्रस्तावक मात्रै खोजी दिनुप¥यो भनेर अन्तिम समयसम्म आग्रह गर्नु भएको थियो,’ प्रदेश कार्यसमितिका एक पदाधिकारीले भने, ‘हामीले केन्द्रको नेताको चाहनाविपरित जान्नौं भनेपछि उहाँ संवादमार्फत सुरक्षित अवतरणको खोजीमा लाग्नु भयो ।
उम्मेदवारीको दर्ताको अन्तिम समयमा प्रदेश कार्यसमितिका एक पदाधिकारीसहित मुख्यमन्त्री शाही र शाहबीच वार्ता भयो । वार्तामा सहभागी ति पदाधिकारीका अनुसार मुख्यमन्त्रीको चाहना निर्वाचनमा जाने भन्नेनै थियो । तर शाह विना शर्त उम्मेदवार नबन्न राजी भएपछि निर्वाचन हुने वातावरण बनेन् । ‘मुख्यमन्त्रीज्यूले दलको नेताका लागि उम्मेदवारी दर्ताको फारम भरिसक्नु भएको थियो, प्रस्तावकमा जाजरकोटकै बेदराज सिंह र समर्थकमा सुर्खेतका खड्क पोखरेल हुनुहुन्थ्यो,’ मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले भने, ‘सांसदहरुको बसाईका क्रममा केन्द्रीय सदस्यज्यूहरुनै प्रस्तावक र समर्थक बस्ने कुरा आएपछि राजीव शाह र जानकी सिंह पछि प्रस्तावक र समर्थक बस्नु भएको हो ।’