सुर्खेत । मदन भण्डारी राजमार्ग अन्र्तगत सुर्खेतको धुलियाविट–भेडाबारी सडकको २५ प्रतिशत काम सम्पन्न भएको छ । करिब डेढ वर्ष अघिदेखि सुरु भएको सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत कार्यप्रगति भएको हो ।
नेपालका पूर्व–पश्चिम जोड्ने राजमार्गहरुमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रुपमा घोषणा गरिएको छ । यो राजमार्गले एक हजार दुई सय किलोमिटरमा पूर्व–पश्चिम जोड्नेछ । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु¥याउने गरी मदन भण्डारी राजमार्ग बनाइएको हो ।
सुर्खेतको धुलियाविट–भेडाबारी सडक खण्ड ३५ किलोमिटर रहेको छ । यो सडक खण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरि कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ । २०७८ असार २८ गतेदेखि सुरु भएको काम २०८० पौष १३ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । जसअनुसार काम सुरु भएको डेढ वर्षको अवधिमा करिव ५० प्रतिसत काम हुनुपर्नेमा लक्ष्यभन्दा ढिला काम भैरहेको छ ।
राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटान आदेश नपाउँदा लक्ष्य अनुसार काम हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले औल्याएको छ । यो सडक खण्डमा करिब १८ किलोमिटर जंगल क्षेत्र पर्दछ । ‘सडक निर्माणको काम सुरु भएको पहिलो महिनादेखि नै रुख कटान आदेशका लागि प्रक्रिया सुरु भएको हो ।’ कार्यालयका ईन्जिनियर जितेन्द्र कुमार शाहले भने, ‘अहिलेसम्म पनि वन मन्त्रालयबाट कटान आदेश पाउन सकिएको छैन ।’
राजमार्ग क्षेत्रमा पर्ने रुखहरु कटान आदेश नहुँदा अहिले सडकको बिचमा रुख छोडेर काम भैरहेको छ । सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाई हुने गरेको छ ।
यस अवधिसम्म ट्रयाक खोल्ने, चौडा बनाउने, नाला निर्माण, ग्याविन, कल्भर्ट लगायतका कामहरु सम्पन्न भएको ईन्जिनियर शाहले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ९ किलोमिटर ग्रावेलको काम पनि सकिएको छ ।
सडक निर्माणको चरणमा अहिलेसम्म जनशक्ति परिचालनमार्फत हुने मुख्य कामहरु करिब सकिएको छ । अबभने मेशिनरी उपकरणको माध्यामबाट हुने कामहरु बाँकी रहेको ईन्जिनियर शाहले बताए । ‘जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्ट जस्ता कामहरु करिब–करिब सकिएका छन् ।’ ईन्जिनियर शाहले भन्नुभयो, ‘अब कालोपत्रे लगायतका काम गर्न मेशिनरी उपकरण प्रयोग हुने कामहरु बाँकी छन् ।’
धुलियाविट–भेडाबारी सडकसँगै सुर्खेतको पश्चिम क्षेत्रअन्र्तगत बड्डिचौर देखि वेतान कर्णालीसम्म ९४ किलोमिटर सडक निर्माणको काम पनि भैरहेको छ । यो सडक खण्डका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । जसका लागि चालु आर्थिक वर्षमै टेण्डर भै काम सुरु हुँदै छ भने तीन वटा मोटरेवल पूल निर्माणाधीन छन् ।
मदन भण्डारी राजमार्गले पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपालसम्म जोडिनेछ । यो सडक शान्तिनगर–धरान, धरान–हेटौंडा, कालिगण्डकी करिडोर–रिडी, रिडी–प्युठान, प्युठान–घोराही, घोराही–सुर्खेत, सुर्खेत–वीपीनगर (डोटी), बीपीनगर–बुडर (डडेल्धुरा), बुडर–रुपाल र महेन्द्रराजमार्गमा खापिने गरी हेटौंडा–नारायणघाट गरी विभिन्न १० वटा खण्डको एकीकृत रूप नै मदनभण्डारी राजमार्ग हो ।