सुर्खेत । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अन्तरगत कर्णालीको मतगणना सकिएको छ । निर्वाचित सांसदहरुले प्रमाणपत्र समेत पाइसकेका छन् । कर्णालीको प्रदेश सभामा नेपाली कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ९, नेकपा एमालेले ५ र स्वतन्त्रले १ सिट जितेका छन् ।
यस्तै, समानुपातिक तर्फको मतगणना सकिएपनि सिट बाँडफाट भने भैसकेको छैन । निर्वाचन आयोगको सार्वजनिक विवरण अनुसार ५ लाख ७७ हजार ८२९ सदर मतमध्ये नेकपा एमालेले एक लाख ८३ हजार ९५० मत, नेपाली कांग्रेसले एक लाख ७० हजार ७५६ मत, नेकपा माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९ मत, नेकपा एकिकृत समाजवादीले ३५ हजार ८२६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८३ मत र अन्य दलहरुले २४ हजार ५०३ मत प्राप्त गरेका छन् । समानुपातिक मत परिणाम अनुसार नेकपा एमाले र कांग्रेसले ५÷५ सिट, माओवादी केन्द्रले ४ सिट, समाजवादी र राप्रपाले १/१ सिट पाउने देखिन्छ ।
कर्णालीमा प्रत्यक्षतर्फ विजयी भएका २४ सांसदमध्ये ६० वर्ष उमेर पार गरेको ३ जना रहेका छन् । दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख)बाट नेकपा एमालेका विनोद शाह प्रदेश सभामा प्रवेश गर्दै छन् । ६६ वर्षीय शाहको संसदीय प्रवेश भने नौलो होइन । उनि यसअघि २०५१ सालमा नेपाल मजदुर किसान पार्टीबाट सांसद भएका थिए । राजाको शासनकालमा शाह तत्कालीन जलस्रोत सहायक मन्त्री समेत भएका थिए ।
कालीकोट प्रदेश सभा (ख)बाट नेपाली कांग्रेसका हिक्मत बहादुर विष्ट निर्वाचित भएका छन् । ६३ वर्षीय शाही संसदीय अभ्यासमा पहिलो पटक प्रवेश गर्दैछन् ।
यसैगरी, सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) बाट नेकपा एमालेका यामलाल कँडेल निर्वाचित भए । ६० वर्षीय कँडेल २०५१ र २०६४ सालको निर्वाचनमा संघीय सांसद र २०७४ मा प्रदेश सभा सांसद निर्वाचित भए । प्रदेश सभामा मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत भएपनि कँडेल सफल भएनन् । कँडेल पर्यटन मन्त्री समेत भईसकेका छन् ।
प्रदेश सभामा प्रवेश गर्नेहरुमध्ये ५० देखि ५९ वर्ष उमेर समूहका १३ जना निर्वाचित भएका छन् । तीमध्ये हुम्ला (ख)बाट नेपाली कांग्रेसका जीवन बहादुर शाही निर्वाचित भएका छन् । ५७ वर्षीय शाही बहालवाला मुख्यमन्त्री हुन् । उनी संघीय सांसद र मन्त्री समेत भैसकेका छन् ।
जाजरकोट (ख)बाट नेपाली कांग्रेसका ५४ वर्षीय राजीव विक्रम शाह निर्वाचित भएका छन् । शाह यसअघि संविधान सभा सदस्य विजय भै संसदीय अनुभव लिइसकेका छन् ।
रुकुम पश्चिम (ख)बाट नेकपा माओवादी केन्द्रका ५१ वर्षीय राजकुमार शर्मा, कालीकोट (क) बाट नेकपा माओवादी केन्द्रका ५२ वर्षीय दुर्गबहादुर रावत, मुगु (क)बाट नेकपा एमालेका ५२ वर्षीय जितबहादुर मल्ल, सल्यान (ख)बाट नेपाली कांग्रेसका ५३ वर्षीय सुरेश अधिकारी, मुगु (ख)बाट नेकपा माओवादी केन्द्रका ५४ वर्षीय मंगलबहादुर शाही, दैलेख–१ (क)बाट नेपाली कांग्रेसका ५५ वर्षीय पूर्णबहादुर खत्री, डोल्पा (ख)बाट नेकपा माओवादी केन्द्रका ५५ वर्षीय विरबहादुर शाही, दैलेख–१ (ख)बाट नेपाली कांग्रेसका ५८ वर्षीय कृष्णकुमार विसी, सल्यान (क)बाट नेकपा माओवादी केन्द्रका ५८ वर्षीय भीमप्रकाश शर्मा, जुम्ला (क)बाट स्वतन्त्रतर्फका ५९ वर्षीय देवेन्द्रबहादुर शाही, सुर्खेत–१ (क)बाट नेपाली कांग्रेसका ५९ वर्षीय खड्गबहादुर पोखरेल निर्वाचित भएका छन् । उनिहरु सबैजना पहिलो पटक संसदीय यात्रामा प्रवेश गरेका हुन् ।
यसैगरी, कर्णाली प्रदेश सभामा ३९ देखि ४९ वर्ष उमेर समूहका ८ जना निर्वाचित भएका छन् । यीमध्ये, सुर्खेत–२ (ख)बाट नेकपा माओवादी केन्द्रका ४३ वर्षीय विन्दमान विष्ट निर्वाचित भएका छन् । विष्ट यसअघि प्रदेश सभा सदस्य तथा मन्त्री समेत भैसकेका छन् ।
रुकुम पश्चिम (क)बाट नेकपा माओवादी केन्द्रका ४९ वर्षीय महेन्द्र केसी, हुम्ला (क)बाट नेकपा माओवादी केन्द्रका ४५ वर्षीय रनसिंह परियार, डोल्पा (क)बाट नेकपा एमालेका ४५ वर्षीय शेरबहादुर बुढा, सुर्खेत–१ (ख)बाट नेकपा माओवादी केन्द्रका ४३ वर्षीय कृष्ण बहादुर जिसी, जुम्ला (ख)बाट नेकपा एमालेका ४२ वर्षीय टेकराज पछाई, जाजरकोट (क)बाट नेपाली कांग्रेसका ४२ वर्षीय वेदराज सिंह र दैलेख–२ (क)बाट नेपाली कांग्रेसका ३९ वर्षीय घनश्याम भण्डारी निर्वाचित भएका छन् । उनिहरु सबैजना पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गर्दैछन् ।