सुर्खेत । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशभरबाट उम्मेदवार बनेका २३ जनाले १०० मत कटाउन सकेनन् । निर्वाचन आयोगको सार्वजनिक मत परिणाम अनुसार प्रतिनिधि सभातर्फ १० जना उम्मेदवार र प्रदेश सभातर्फ १४ जना उम्मेदवारले १०० मत कटाउन नसकेका हुन् । यसरी मत कम ल्याउनेमा दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्म रहेका छन् ।
तीमध्ये दुई जना स्वतन्त्र उम्मेदवारले एकल अंकको मतमा चित्त बुझाए । मुगु प्रदेश सभा (क)बाट स्वतन्त्र उम्मेदवार मानबहादुर ऐडीले ८ मत पाए भने सुर्खेत क्षेत्र नं. १ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार देवबहादुर चन्दले ९ मत पाए । चन्द २०७४ को स्थानीय तह निर्वाचनमा चिङ्गाड गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
यस्तै, सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेमकिपाका प्रेम कुमार थापा (५९ मत), राप्रपाका जिवन चन्द (३२ मत) र मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर घर्ती मगर (२९ मत) रहेका छन् ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क)बाट प्रदेश सभा सदस्य उम्मेदवार जसपाका गंगे कामी (४९ मत), राप्रपा नेपालका लालबहादुर गुरुङ्ग (४७ मत), नेमकिपाका पुष्पराज राना (२३ मत) रहेका छन् । साथै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेमकिपाका मनकली रामजाली (६३ मत) र स्वतन्त्र देवबहादुर चन्द (९ मत) रहेका छन् ।
यसैगरी, सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेश्नलिष्ट पिपल्स पार्टीका कुमारी राईले ५० मत पाईन् भने सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा (क) प्रदेश सभा सदस्य उम्मेदवार राप्रपा नेपालका मानबहादुर गाईनले ७७ मत र नेपाल लोकतान्त्रिक पार्टीका पुर्णबहादुर सुनारले २२ मत पाए । साथै, सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा नेमकिपाका गगन कामी ९४ मतमा चित्त बुझाए ।
दैलेखमा प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेस (बिपी)का भूपाल बहादुर थापाले ६६ मत पाए ।
डोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा माक्सवादी (पुष्पलाल)का हर्कबहादुर ठकुल्लाले ५३ मत लिए भने स्वतन्त्र विरबहादुर रोकायले १० मत प्राप्त गरे । डोल्पा प्रदेश सभा (क) मा नेकपा माक्सवादी (पुष्पलाल)का नन्द बहादुर रोकायले २४ मत पाए ।
हुम्ला प्रदेश सभा (ख) मा जसपाका बलीराज शाहीले ४१ मत पाउदा राप्रपा नेपालका सुमन रावतले २१ मत पाए ।
मुगुमा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर सेजुवालले ६७ मत लिए भने अर्का स्वतन्त्र उम्मेदवार भीमचन्द्र हमालले ३८ मत पाए ।
मुगु प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार मानबहादुर ऐडीले ८ मत पाए भने मुगु प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार जगमबहादुर धामीले १५ मत पाए ।
कालीकोटमा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले ८२ मत पाए ।