सुर्खेत । दल रोज्ने अधिकारलाई प्रयोग गर्न पाउने भएकोमा कैदीबन्दीहरुले खुशी व्यक्त गरेका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको मत दिन पाउनेभएपछि उनिहरु खुशी भएका हुन् । २०५६ साल यता सम्पन्न निर्वाचनहरुमा उनिहरुले मतदान गर्न पाएका थिएनन् ।
‘कैदीबन्दी हुँदैगर्दा निर्वाचनमा आफुले चाहेको दल रोज्ने अवसर पाएका थिएनौं’ शिलापेपरकर्मीसँग कैदीबन्दीले भने, ‘मतदानमा सहभागिता हुन पाउने खबरले खुशी छौं ।’ निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिक मात्र नभई प्रदेश सभा र आफुले चाहेको उम्मेदवारलाई मत दिने अवसरमा पाए थप उत्तम हुने उनिहरुको तर्क छ ।
‘घेराभित्र बसेर भएपनि मताधिकारको प्रयोग गर्न पाउने भएका छौं ।’ अर्का कैदीबन्दीले शिलापेपरकर्मीसँग भने, ‘हामीलाई कैद अवधि सकिएपश्चात पुर्नस्थापनाका लागि सहज हुनेमा टेवा पुग्ने विश्वास लिएका छौं ।’
सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलका अनुसार हाल कारागारमा तीन सय ८३ कैदीबन्दी रहेका छन् । तीमध्ये एक सय एक जनामात्रै अस्थायी मतदाता रहेका छन् । यी बाहेकका अन्य कैदीबन्दीहरु निर्वाचन आयोगको मतदाता नामावलीमा समावेश नभएकोले अस्थायी मतदाता नभएका हुन् ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अस्थायी मतदाता नामावली भएको व्यक्तिले मत दिन पाउने छन् । मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामवलीमा दर्ता भएका व्यक्ति अस्थायी मतदाता हुन् । अस्थायी मतदाता सम्बन्धी २०७३ मै कानुनी व्यवस्था भएपनि यस पटकको निर्वाचनबाट मतदानमा सहभागी हुन थालेका हुन् ।
निर्वाचन आयोगको मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकारका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र बृद्धाश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाता भनिएको छ ।
ऐनमा समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अस्थायी मतदाताको व्यवस्था भएपनि यसपटकको निर्वाचनमा प्रतिनिधि सभा तर्फको मात्रै समानुपातिक मत दिन पाइने आयोगले जनाएको छ । ‘एउटै प्रदेश भित्र बसोबास गर्ने अस्थायी मतदाता नमावाली भएका मतदाता भएको भए प्रदेशसभाको निर्वाचनमा पनि सहभागी गराउन सकिन्थ्यो होला’ कर्णालीका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘अर्को प्रदेशबाट रोजगारी वा अन्य शिलशिलामा यहाँ खटिइनुभएका त्यस्ता(अस्थायी) मतदाता पनि हुनुहुन्छ । उहाँहरुले यो प्रदेशको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन मिल्दैन ।’
निर्वाचन अधिकारी चालिसेका अनुसार सुर्खेतमा २१ सय बढी अस्थायी मतदाता सहभागी हुदैछन् । तीमध्ये जिल्ला कारागार सुर्खेतमा एक सय एक कैदीबन्दी र पाँच जना प्रशान्ती वृद्धाश्रम सुर्खेतमा रहेका ज्येष्ठ नागरिकले मतदानमा सहभागिता जनाउनेछन् ।
अस्थायी मतदाताका लागि सुर्खेत जिल्लामा २ वटा विशेष मतदान केन्द्रको व्यवस्था गरिएको छ । कारागार कैदीबन्दीका लागि कारागार परिसर र अन्य कर्मचारीका लागि जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्र व्यवस्था गरिएको हो । यस्तै, प्रशान्ती वृद्धाश्रम सुर्खेतमा रहेका मतदाताले लाटीकोइलीस्थित शिव माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नेछन् ।