सुर्खेत । नेपाल सरकारका पूर्व मन्त्री एवम् काँग्रेस नेता तथा सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले सुर्खेतको विकासका लागि आफ्ना संकल्पहरु सार्वजनिक गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थानीले आफ्नो क्षेत्रको विकासका लागि १६ बुँदे संकल्प प्रस्तुत गरेका हुन् ।
उनले सुर्खेत उपत्यका खानेपानी समस्या समाधान, वीरेन्द्रनगर चक्रपथ निर्माण, फोहोर व्यवस्थापन, १३२ केभिए विद्युत प्रसारण, कोहलपुर–सुर्खेत सडक स्तरोन्नती र वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने संकल्प लिएका छन् ।
यसैगरी, सुर्खेत विमानस्थलको समस्या समाधानका लागि उपयुक्त निकासको खोजी गरी कर्णालीका सबै जिल्लामा हवाई उडानको व्यवस्था, पश्चिम क्षेत्रका सबै पालिकामा विद्युतीकरण, तल्लो तटीय क्षेत्रको डुवान समस्या समाधान गर्न ढल व्यवस्थापन सहितको परियोजना सञ्चालन, बड्डिचौर–गुटु– बेनीघाट सडक स्तरोन्नती, फलाँटे–तेलपानी भुरीगाउँ सडक निर्माण गर्ने योजना संकल्प पत्रमा समेटिएका छन् ।
साथै, प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाई धार्मिक तथा पर्यटकीय सर्किट सञ्जाल बनाउने, प्रविधिलाई समयानुकुल बनाउन संरचनाको विस्तार, कर्णाली चिसापानी–घाटगाउँ–गुटु–जङ्गलाघाट सडक निर्माण, चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापना गर्ने लगायतका योजनाहरु संकल्पमा पत्रमा समेटिएका छन् ।
नेता थानीले यस अघिल्ला निर्वाचनमा आफु निर्वाचित हुँदा सुरुवात गरेका विकासका पूर्वाधारलाई सम्पन्न गराउनुका साथै नयाँ आयोजनाहरु सञ्चालन गर्ने बताए । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि अभिमत लिन जनताकाबीचमा आएको उनको भनाई छ ।