सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेत र ट्राफिक प्रहरी कार्यालय सुर्खेतले लागु औषधजन्य पदार्थ सेवन (लापसे) गरे वा नगरेको किटमार्फत चेक गर्ने भएको छ।
यसअघि मादक पदार्थ सेवन सम्बन्धी चेकजाँच हुने गरेपनि अबदेखि सवारी साधन चालकले लागु पदार्थ सेवन गरे वा नगरेको चेकजाँच गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्र्तगत लापसे चेकजाँचलाई समेत कडाई गरिएको हो। सोही अनुसार बुधबारदेखि सुब्बाकुना प्रहरी चेकप्वाईन्टमा चेकजाँच सुरु गरिसकिएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्युनिकरण गर्न गृहमन्त्रालयबाट निर्णय भई लागू औषधजन्य पदार्थ सेवन गरि सवारी चलाउदा दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर राखि चेकजाँच गर्न थालिएको लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेतको भनाई छ।
लागुऔषधजन्य पदार्थ सेवन गरेको छ वा छैन भन्ने चेकजाँच गर्ने टेस्ट किटमा पिसाव चेक गरी तत्काल थाहा पाउन सकिन्छ।