सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा विवरण पेश गरि रकम भुक्तानी दिने/लिने ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। डिभिजन वन कार्यालय सुर्खेत तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दाहाल र सहायक वन अधिकृत टेक बहादुर रावल सहित ७ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाई रु. चार लाख ३६ हजार ७२२ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
प्रवक्ता भण्डारीका अनुसार उनिहरुले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको पुष्टि हुन आएकोले निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ) र (ङ) द्वारा परिभाषित कसुर भएकोले निजहरु गोविन्द प्रसाद दहाल र टेक बहादुर रावलउपर बिगो चार लाख ३६ हजार ७२२ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ।
कारण बिना लागत इस्टिमेट अस्वाभाविक रुपमा बढाई यथार्थ नाँपजाच गरी कार्य मुल्यांकन गर्नुको साटो एलिसा डिजाइन्स एण्ड विल्डर्सका प्रोपाइटर लोकेन्द्र रानाले नभएको, नगरेको कार्य नक्कली बिल भरपाई बनाई नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको प्रवक्ता भण्डारीले जनाए। उनका अनुसार सोही नापी किताब एवं कार्य सम्पन्नलाई एकिन नगरी हचुवाको भरमा उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेतले हस्ताक्षर गरी बुझाएका थिए।
सहायक वन अधिकृत टेक बहादुर रावलले जाँच गरी उक्त झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेतलाई स्वीकृत गरी तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहालले उपभोक्ता समितिलाई बढी भुक्तानी दिने बदनियतले गलत प्रतिवेदन दिने कार्य गरी निजहरु लोकेन्द्र राना, रुद्र बहादुर बस्नेत, टेक बहादुर रावल र गोविन्द प्रसाद दहालले भ्रष्टाचार निवारण ऐेन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनसमेत मागदावी लिइएको अख्तियारले जनाएको छ।
कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेत, उपाध्यक्ष ध्रुव कुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमा कुमारी बुढाले विरूद्व चार लाख ३६ हजार ७२२ रूपैयाँ विगाे कायम गरी मुद्दा दायर गरेकाे छ।