सुर्खेत। समानुपातिक निर्वाचन प्रणालीको बन्दसुचीमा उम्मेदवाहरुको नाम दलहरुले सुचीकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गराउन माग गरिएको छ। नेपाल नेत्रहीन युवा संघ नेपाल, शाखा सुर्खेतले शनिबार प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग राखेको हो।
मतदान केन्द्रमा व्हिलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्नका लागि व्हिलचियर गुडाउन पर्याप्त ठाउँ बनाईनुपर्ने माग गरेके छ। संङले न्यून दृष्टियुक्त व्यक्तिहरुका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरु प्रष्ट रुपमा देखिन मत पत्रको रङ्गमा स्पष्ट फरक हुनुपर्ने र म्याग्निफाईङ्ग ग्लासको व्यवस्था गराइदिन आयोगलाई अनुरोध गरेको छ।
दृष्टिविहीन व्यक्तिहरुका लागि छामेर मतपेटीकामा मतपत्र खसाल्नका लागि मतपेटीमा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने र व्रेललिपी तथा ठूलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने। हात सम्बन्धि शारिरीक अपांगता भएका मतदाताका लागि मतपत्र लिदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठूलो कलमको व्यवस्था गर्नुपर्ने। सुनाई सम्बन्धी अपांगता भएका मतदाताका लागि मतदान केन्द्रमा सांकेतिक भाषाका दोभाषेहरु उपलब्ध गराउनका लागि आयाेगकाे ध्यानाकर्षण गराइएकाे छ।
यसैगरि, मतदान निर्देशिकामा अपांगता सम्बन्धि विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपांगता भएका मतदातासँग गर्नुपर्ने व्यवहार बारे तालिमको व्यवस्था अनिवार्य गराईनुपर्ने। मतदानको दिन अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्रर मतदान केन्द्रबाट घरसम्म ल्याउने र पुर्याउने व्यवस्था गर्नु पर्ने। निर्वाचनलाई पहुँचयुक्त बनाउन निर्वाचन आयोगले सबै निर्वाचन साझेदार लगायत नागरिक समाज, अपांगता भएका व्यक्तिहरु सम्बद्ध संघ संस्थाहरु, अपांगता अधिकारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई जनचेतना अभिवृद्धि, र सहकार्यका माध्यमबाट अभिमुखीकरण गर्नुपर्ने माग छ।
साथै, निर्वाचन पर्यवेक्षकका रुपमा अपांगता भएका व्यक्तिहरुलाई सहभागी गराउन निर्वाचन पर्यवेक्षक निर्देशिकामा संशोधन गर्नुपर्ने । पर्यवेक्षण फारममा निर्वाचन पहुँचयुक्त रह्यो–रहेन भन्ने विषय सम्बन्धि प्रश्नहरु समावेश गरिनुपर्ने। आचारसंहिता निर्माणका क्रममा अपांगता भएका व्यक्तिहरु र संस्थालाई सहभागी गराउनुपर्ने। मतदाता शिक्षा गतिविधिमा अपांगता भएका व्यक्तिलाई सहभागी गराईनुपर्ने। सञ्चार माध्यमलाई पहूँचयुक्त तरिकाले सुचना प्रसार गर्न प्रशिक्षित गर्नुपर्ने। पहुँचयुक्त सुचना प्रणालीबाट निर्वाचन परिणाम घोषणा गरिनुपर्ने। यसका लागि निर्वाचन परिणाम घोषणाको सांकेतिक भाषा र क्याप्सन सहितको छोटोछोटो भिडियो नियमित रुपमा टिभिबाट प्रशारण गर्नुपर्ने। मतगणना स्थलमा सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
यसैगरि, अपांगता भएका व्यक्तिहरुलाई ईच्छाईका स्थानबाट मतदान गर्ने व्यवस्था मिलाईनुपर्ने। निर्वाचन आयोग र निर्वाचन कार्यालयका वेबसाइटहरु पहुँचयुक्त बनाईनुपर्ने। निर्वाचनमा सहभागि अपांगता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाईनुपर्ने।अपांगता भएका व्यक्तिलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान स्थलमा नङमा मसि लगाउने कर्मचारी, मतदाता नामावली प्रमाणीकरण कर्मचारी, स्वयमसेवक, पर्यवेक्षक र अरु निर्वाचनसँग सम्बन्धित कर्मचारीहरु टाउँदा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने। र अपांगता भएका मतदाताहरुका लागि सहयोगीका रुपमा एकाघरका परिवारका सदस्य एवं मतदान अधिकृतलाई सिमित गरेको हुदा उक्त प्रावधानलाई संशोधन गरि अपांगता भएका व्यक्तिहरुले इच्छाएको व्यक्ति द्वारा मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने। साथै, सुर्खेत जिल्लाका कम्तिमा ५५ मतदान स्थलहरूलाई पूर्ण अपाङ्गता मैत्री बनाउन आयाेगकाे ध्यानकर्षण गराइएकाे छ।