सुर्खेत। संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
राष्ट्रिय सभामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेका छन्।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधहरु, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकाहरुको छलफलमा सहभागिता रहेको छ।
नेपालको संविधानको धारा ५६ (२) को कार्यान्वयनको अवस्था, राष्ट्रिय सभा नियमावली २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। सोही बमोजिम सोमबार कर्णाली प्रदेशको राधजानी सुर्खेतको वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो।