काठमाडाैं। बच्चालाइ स्तनपान गराउने संख्या कर्णाली प्रदेशमा बढी देखिएकाे छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रसूति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै बच्चालाई स्तनपान गराउने संख्या कर्णालीमा बढी भएकाे जानकारी दिएका हुन्।
मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकाले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे।
उनले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको सङ्ख्या सबैभन्दा कम देखिएको बताए। उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए।
मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए। उनलेद बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरीत भएको बताए।
सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि मन्त्रीले सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिए।