काठमाडौं। कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गएको अनुमान गरिएको छ। स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका अनुसार कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान छ। जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो।
१२ वर्ष देखि १७ वर्षसम्मका किशोर र किशोरीलाई लगाउने फाइजर बायोएनटेक खोपको पनि ४ महिनापछि म्याद सकिँदैछ।
आपूर्ति शाखाका अनुसार सरकारले खरिद र अनुदान गरेर पाँच करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये एक करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद मार्फत र कोभ्याक्स र अनुदानबाट चार करोड पाँच लाख चार हजार ३७० मात्रा खोप प्राप्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म चार करोड ८८ लाख ६० हजार ७३७ मात्रा खोप लगाइसकिएको छ।
कोरोना नियन्त्रण गर्ने उद्देश्यले सरकारले पहिलो पटक २०७७ साल माघ १४ गतेबाट खोप लगाउन सुरु गरेको थियो। यो अवधिमा दुई करोड ११ लाख ३५ हजार ७६ जनाले एक मात्रा र दुई करोड पाँच लाख ३५ हजार ८३८ मात्रा खोप लगाएका छन्। त्यसैगरी, सरकारले ७१ लाख ९० हजार २३७ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।
२०७८ साल माघ २ गतेबाट अतिरिक्त मात्रा खोप लगाउन सुरु गरेको थियो। सरकारले कुल जनसंख्याको ७२।४ प्रतिशत अर्थात दुई करोड ११ लाख ३५ हजार ७६ जनाले पहिलो मात्रा र ७०।३ प्रतिशत अर्थात दुई करोड ५३ लाख पाँच हजार ८३८ मात्रा खोप लगाइसकेको छ।
त्यसैगरी, सरकारले १२ वर्ष माथिका दुई करोड ३३ लाख २७ हजार ६१९ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो। जसमध्ये ९०।६ प्रतिशत अर्थात् दुई करोड ११ लाख ३५ हजार ७६ जनाले पहिलो मात्रा र ८८ प्रतिशत अर्थात् दुई करोड पाँच लाख ३५ हजार ८३८ जनाले दोस्रो मात्रा खोप लगाएका छन्।
प्रदेश अनुसार कतिले लगाए खोप ?
प्रदेश १ मा ८९ प्रतिशतले पहिलो मात्रा, ८५ प्रतिशतले पूर्ण मात्रा र ३८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्। त्यस्तै, मधेश प्रदेशमा ८४ प्रतिशतले पहिलो मात्रा, ८३ प्रतिशतले पूर्ण मात्रा र १९ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्।
बागमती प्रदेशमा सत् प्रतिशतले पहिलो मात्रा, ९६ पूर्ण मात्रा र २८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा ९४ प्रतिशतले पहिलो मात्रा, एक सय पूर्ण मात्रा र ३८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्।
लुम्बिनी प्रदेशमा प्रदेशमा ९३ प्रतिशतले पहिलो मात्रा, ९१ पूर्ण मात्रा र ३८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्।
कर्णाली प्रदेशमा ७८ प्रतिशतमा पहिलो मात्रा, ७४ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्। र, सूदूरपश्चिम प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा, ७९ पूर्ण मात्रा र ३२ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्।