सुर्खेत। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम अर्न्तगतको योजना अनियमित भएको पाइएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधि विपरित योजना सञ्चालन भएपछि अनियमित देखिएको हो।
आर्थिक वर्ष २०७८/०७९ को मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दैलेखको महाबु गाउँपालिका–५ काँसिकाँधमा योजना सञ्चालन भयो। सो योजना काँसिकाँधको छेपाडी डाँडा, धानेगैरा, झिनेपानी हुँदै गडिगाउँ जोड्ने सडक थियो। सडक निर्माणका लागि १० लाख बजेट विनियोजन भयो।
कर्णाली प्रदेशका बेरोजगार तथा कोभिड–१९ बाट प्रभावित युवालाई स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको हो। जसअनुसार सडक निर्माणका लागि काँसिकाँधका १३ जना कामदार छनोट भए। ती कामदारसँग महाबु गाउँपालिकाले योजना सम्पन्न गर्नका लागि सम्झौता समेत ग¥यो।
तर, बेरोजगार भएर काम लिएका कामदारहरुले भने आफु काममा संलग्न नभै ठेकेदार कम्पनीलाई योजना बेचिदिए। योजना बेच्दा तत्कालीन वडाअध्यक्ष जगतबहादुर हमाल र वर्तमान वडाअध्यक्ष दिपक शाही समेत त्यसको रोहवर बसेका छन्।
उनिहरुले भवानी कालिका कन्स्ट्रक्सनलाई योजना बेचेका हुन्। सडक निर्माणका लागि जे.सि.बी. स्काभेटर प्रयोग गर्न प्रति घण्टा तीन हजारका दरले चार लाख बत्तिस हजार चार सयमा सडक निर्माण गर्नेगरि ठेक्कामा दिएका हुन्।
मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिको दफा १५ मा ठेक्का पट्टा गर्न नपाइने स्पष्ट उल्लेख छ। ‘आयोजनाको (मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना) सञ्चालन ठेक्का पट्टा वा तेस्रो पक्षमार्फत गर्न वा गराउन पाइने छैन।’ भनि लेखिएको छ । उक्त कार्यविधि विपरित योजना तेस्रो पक्षलाई दिइएको हो।
मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १० लाख बजेटमा सडक निर्माण गरिएको फिल्ड प्राविधिक पुस्कर थापाले बताए। उनका अनुसार सो रकमबाट सडक खन्ने, पर्खाल लगाउने, जाली भर्ने लगायतका काम गरिएको छ। जसमध्ये ३५ मिटर बाटो खनिएको छ। विनियोजित १० लाख रकमबाट ७० प्रतिसत जनश्रमदान, ३० प्रतिसत रकम सामाग्री खरिद र २ प्रतिसत कन्टिजेन्सी रकम खर्च भएको छ।
सडक निर्माणको काम जेठ मसान्तभित्रै सम्पन्न भएकोले रकम भुक्तानीका लागि आफुले सिफारिस गरिदिएको वडाअध्यक्ष दिपक शाहीले बताए। सो सडक निर्माण योजनामा डोजर प्रयोग भएको बारेमा आफु जानकार भएको समेत बताए। ‘मलाई कार्यविधि बारे थाहा थिएन। सडक अलि टाढा पु¥याउनुपर्ने थियो। डोजरका लागि कुरा गरेका थिए। त्यसको रोहबरमा म पनि थिए।’ वडाअध्यक्ष शाहीले भने, ‘उतिबेलाको वडाअध्यक्ष (जगत हमाल)ले काम गर्न मिल्छ भन्नुभयो। मिल्ने नै होला सोचेँ। कामदारले योजना सम्पन्नको सिफारिस लिन आउनुभयो। मैले सिफारिस दिएर पठाएको हुँ।’
सम्झौता अनुसार डोजर लगाएर सडक खनेको सो सडक योजना निर्माण समूहमध्येका नगेन्द्र सिंहले बताए। ‘आफुहरुबाट काम गर्न नसकिने ठाउँमा डोजरबाट खन्नका लागि सम्झौता गरेका हौं।’ सिंहले भने, ‘डोजरले कति घण्टा काम ग¥यो त्यसको हिसाब निकाल्न बाँकी छ। त्यो हेरेर काम अनुसारको पैसा तिर्छौं।’