सुर्खेत । काँक्रेविहार हाफ म्याराथन (२१ किलाेमिटर) दाैड प्रतियाेगितामा तिर्थ कुमार पुन प्रथम बनेका छन्। उनले १ घण्टा ९ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका हुन्।
प्रतियोगिताकाे २१ किलोमिटर दौडमा दोस्रो राजन रोकाय, तेस्रो चिनेबहादुर बुढा, चौथो खगेन्द्रबहादुर भाट, पाँचौ सुवास कार्की र छैटौं श्रीकाश राई विजयी भएका छन् ।
उनीहरुलाई क्रमस ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
पाँच किलोमिटर दौडमा विकास विक प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ बिमला कार्की, निशा मल्ल र लक्ष्मी शाही विजयी भएका छन् । उनीहरुलाई पनि नगद पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
‘अन्तर्राष्ट्रिय ओलम्पीक डे’ काे अवसरमा सुर्खेतमा काँक्रेविहार हाफ म्याराथन आयाेजना गरिएकाे थियाे। कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेविहार हाफ म्याराथन प्रतियोगिता गरिएको हो ।
वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न भएको थियो ।
ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचारप्रसार र कर्णालीमा खेल पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयाेजित प्रतियोगितामा एक हजार बढीले सहभागी जनाएका थिए ।