काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको कारण सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद पद्माकुमारी अर्यालले छोटो समयमा पटकपटक मूल्यवृद्धि गरिएको बताएकी थिइन्। उनले मूल्यवृद्धिको कारण मन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग गरेकी थिइन्।
उनले बोलेर सकेपछि एमाले सांसदहरू आफू बसेको ठाउँबाट उभिएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रूलिङ गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन निर्देशन दिएका थिए।
गए राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। पेट्रोल लिटरमै १९९ रूपैयाँ पुगेको छ।