काठमाडौं । महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक कार्यक्रममा आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई दुर्व्यवहार गरेका छन्।
धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि लागेको यौनदुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका हुन्।
काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्।
स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए।
स्थापित बसेको ठाउँबाट जंगिदै उठेर चोर औंला देखाउँदै भने – यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक भएन।’
स्थापित जंगिएपछि होहल्ला भएको थियो। राउतका अनुसार अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले पनि स्थापितको व्यवहारप्रति मञ्चमै आपत्ति जनाएकी छन् ।