सुर्खेत । ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’ आयोजना हुने भएको छ । नेपाली सेनाको पश्चिम कमाण्ड हेड क्वाटर पृतनाले फागुन १७ गते अर्थात महाशिवरात्री तथा सेना दिवसको अवसरमा उक्त आयोजना गर्न लागेको हो ।
‘युनिटी रन’ अन्तरगत स्वास्थ्य र खेलकुदका लागि दौड प्रतियोगिता हुने पश्चिम कमाण्ड हेड क्वाटर पृतनाले जनाएको छ ।
प्रतियोगितामा पाँच किलोमिटर खुल्ला महिलातर्फ र पाँच, १० र २१ किलोमिटर खुल्ला पुरुषतर्फको प्रतिस्पर्धा हुने हेड क्वाटरका प्रमुख सेनानी संजीव भण्डारीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन सुर्खेतमा बसोबास गर्ने महिला र पुरुषतर्फबाट खुल्ला प्रतिस्पर्धाका लागि आह्वान गरिएको छ ।
प्रतिस्पर्धाबाट प्रत्येक विधामा पहिलो र दोस्रो स्थान हासिल गर्नेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रमुख सेनानी भण्डारीले जानकारी दिए ।
‘प्रतियोगितामा भाग लिनका लागि सेनाको सुपथ मूल्य पसलबाट निःशुल्क रुपमा रजिष्ट्रेसन फाराम भर्न सकिन्छ’ प्रतियोगिताबारे जानकारी दिँदै प्रमुख सेनानी भण्डारीले भने, ‘सहभागी हुने व्यक्तिले फागुन १५ गते अपरान्ह ४ बजेभित्र फाराम बुझाईसक्नुपर्ने छ ।’
महाशिवरात्री तथा सेना दिवसको दिन विहान ७ः३० बजेदेखि वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।