सुर्खेत । ललितपुरको बालकुमारीमा भएको घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले कर्णाली प्रदेशको राजधानी सुर्खेत र दैलेखमा आन्दोलन गरेका छन् । उनिहरुले प्रधानमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री लगायतको राजीनामा सहित सरकार विरुद्ध आन्दोलन गरेका हुन् । शनिबार दिउँसो बजारका मुख्य क्षेत्रमा नारा जुलुस सहित प्रदर्शनमा उत्रिएका थिए ।
आन्दोलन संघर्ष समिति, सुर्खेत नामाकरण गरी आफन्त तथा सुभचिन्तकहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । संघर्ष समितिले आईतबार सुर्खेतमा सरकारी सवारी साधन पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको छ । सोही दिन दिउँसो १२ देखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्दको आह्वान गरिएको जनाएको छ ।
शुक्रबार इपिएस परीक्षाको विषयलाई लिएर बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्रनगर शाहको मृत्यु भएको थियो ।
सरकारले मृतकका परिवारलाई १० लाख रुपैँया राहात स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । तर, आफन्तले भने अस्वीर गरेको बताएका छन् ।
आफन्तले दोषीहरुलाई कार्वाही गरी मृतकलाई शहिद घोषणा गरिनुपर्ने, उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।