दैलेख (महाबु) । ललितपुर स्थित बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजन रावतको मृत्युप्रति महाबु गाउँपालिका दैलेखद्वारा दुःख व्यक्त गरिएको छ । महाबुका कार्यवाहक अध्यक्ष मञ्जु कुमारी शर्मा (पाण्डे)द्वारा प्रेस विज्ञप्ती जारी गर्दै दुःख प्रकट गरिएको हो ।
शुक्रबार रोजगार अनुमती प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर बालकुमारीमा आन्दोलन भएको थियो । सो आन्दोलनका क्रममा प्रहरी र आक्रोशित युवाहरुबीच झडप भएको थियो । झडपका क्रममा दैलेखको महाबु गाउँपालिका –६ रानीवन स्थायी ठेगाना भएका रावतको मृत्यु भएको थियो ।
रावतको मृत्युप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरेको छ । साथै, पीडित परिवारलाई उचित न्यायको व्यवस्था गरिदिन नेपाल सरकारसँग अनुरोध गरेको छ ।
रावत सहित आन्दोलनका क्रममा अछामको चौरपाटी गाउँपालिका–१, सिउडीका २३ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ ।
साथै, घटनाको छानविन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।