रुकुम पश्चिम । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर आएको भुकम्पबाट मुसिकोट नगरपालिका पनि प्रभावित बनेको छ । मानवीय क्षतीको विवरण नआएपनि मुसिकोटका ८०२ घर पूर्ण रुपमा क्षती र एक हजार ८६१ घर आंशिक क्षती भएको विवरण वडाहरुले पेश गरेका छन् ।
घर क्षती भएपछि यहाँका नागरिक घरबाहिर छन् । यतिबेला यहाँ पनि राहात तथा बासको आवश्यकता देखिन्छ । विपद् व्यवस्थापनका लागि मुसिकोट नगरपालिकाको बिहिबार बैठक बस्दै थियो । उक्त बैठकले विपद व्यवस्थापन बारे आर्थिक अख्तियारी सहितको निर्णय गर्नुपर्ने थियो । तर, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का र लेखापाल नरेन्द्र विष्ट कार्यालयमा अनुपस्थित हुँदा सो निर्णय हुन सकेन ।
नगरपालिका स्रोतका अनुसार उनिहरु गत सोमबारदेखि कार्यालयमा उपस्थित छैनन् । उनिहरु दुबै जनाले बिदा समेत स्विकृत नगराई अनुपस्थित भएका हुन् । नियमानुसार कुनैपनि कर्मचारी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुन पाइदैन ।
साथै, विपद् परेमा बिदा समय बाँकी हुँदापनि कार्यालय उपस्थित हुनुपर्ने भएपनि उनिहरु दुबै जना चारदिनदेखि कार्यालयमा नआउँदा अन्य कामहरु समेत प्रभावित बनेका छन् ।
नगरप्रमुख महेन्द्र केसीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल दुबैजना कार्यालयमा नआएको बताए । ‘मलाई त केहि जानकारी पनि दिनुभएको छैन,’ नगर प्रमुख केसीले भने, ‘यस्तो विपद्को बेला क्षतिको तथ्यांक संकलन, राहतको व्यवस्थापन लगायका काममा प्रत्यक्ष प्रभाव परिरहेको छ ।’
यता, शिलापेपरले यसबारे बुझ्दा प्रमुख प्रशासकीय अधिकृत खड्काको टेलिफोन उठेन । लेखापाल बिष्टले भने पछिल्लो पराकम्पका कारण आफ्नो घर चर्किएकोले आफु कार्यालयमा उपस्थित हुन नसकेको बताए । विष्टका अनुसार उनको घर मुसिकोट नगरपालिका–२ राताबाडामा पर्दछ । ‘मेरो घर चर्किएर बस्न नमिल्ने भएछ । त्यसका लागि म दुई दिन कार्यालय आउन सकिनँ ।’ उनले भने, ‘आजदेखि म कार्यालयमै छु । हाकिमसाब काठमाडौं जानुभएको छ ।’
विष्टका अनुसार शिक्षासँग सम्बन्धित तालिम र उनका छोराको उपचारका लागि प्रमुख प्रशासकिय अधिकृत खड्का काठमाडौं गएका हुन् ।