सुर्खेत । पश्चिम नेपालमा आएको भुकम्पबाट कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।
हामीलाई प्राप्त विवरणअनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ र रुकुमकै सानीभेरी नगरपालिकामा पाँच जनाको मृत्यु भएको छ ।
यस्तै, जाजरकोटको भेरी नगरपालिकाका ९ जना र कुशे गाउँपालिकामा सात जनाको मृत्यु भएको छ ।
रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको जानकारी दिए ।
जाजरकोटको कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार कुशे–७ धनरासेमा घरहरू भत्किँदा सात जनाको मृत्यु भएको हो ।
जाजरकोटकै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको जानकारी दिए ।
मेयर घर्तीका अनुसार जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको छ। सयौंको संख्यामा जिल्ला अस्पतालमा घाइतेहरू रहेको उनले बताए ।
तत्काल भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको उनले बताए । वडा नम्बर १ र २ मा पनि हताहतीको खबर आएको उनले जानकारी दिए । ’हताहती निकै भएको देखिएको छ, अस्पताल पनि खचाखच भरिएको छ,’ उनले भने ।
त्यस्तै, रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी प्रवक्ता इन्सपेक्टर धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ मा चार जना र वडा नम्बर २ मा एक जनाको मृत्यु भएको हो । त्यहाँ कम्तिमा दस जना घाइते छन् ।
रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो भुकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन ।
पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन् । त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन् ।