दैलेख । दैलेखको नारायण नगरपालिकामा प्लाष्टिक झोलाविरुद्ध डोको अभियान कार्यक्रम गरिएको छ । वातावरण प्रदुषणलाई कम गर्न सिफ्ट अभियान अन्तर्गत शहरबाट प्लाष्टिक हटाउने अभियानका रुपमा कार्यक्रम आयोजना गरिएको हो ।
‘डब्ल्युडब्ल्युुएफ’ र ‘सेभ द चिल्ड्रेन’को आर्थिक सहयोग, एभरेस्ट क्लबको समन्वय र पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थित जनाउँदै वातावरण प्रदुषणलाई रोक्न प्लाष्टिकजन्य वस्तुहरुको व्यवस्थापन र कम प्रयोग गर्नको निम्ति पालिकाले पहल गरेको नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले बताईन् । नगरलाई स्वच्छ राख्नको निम्ति सरसफाइ कार्यक्रम अतिआवश्यक रहेकोले यस्ता कार्यक्रमलाई निरन्तर कार्यान्वयनमा लिनुपर्ने सुझाव दिईन् । यसका लागि नगरपालिकाका तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।
पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानका कोषाध्यक्ष गोमा थापाले यो अभियानले प्लाष्टिकजन्य प्रयोगलाई कम गर्दै जलवायु परिवर्तनबाट हुनसक्ने खतरालाई कम गर्ने विश्वास व्यक्त गरिन् । प्लाष्टिकजन्य वस्तुको ठाउँमा बाँसबाट बनेका सामाग्री प्रयोग गर्न सकिने सुझाव दिईन् ।
अभियान अन्र्तगतको कार्यक्रम दैलेखको भगवती टोलदेखि देवकोटा चोकसम्म सरसफाई गरिएको थियो । योसँगै कुहिने र नकुहिने फोहोर व्यवस्थापन सम्बन्धी चेतनामूलक सूचना प्रवाह गरिएको थियो ।
साथै, प्रतिवद्धता लेखिएको व्यानरमा हस्ताक्षर संकलन समेत गरिएको छ । ‘‘जलवायु परिवर्तन हुनुको मुख्य कारण प्लाष्टिक पनि एक हो’’ व्यानरमा लेखिएको छ, ‘‘मैले प्लाष्टिक व्यवस्थित र कम प्रयोग गर्ने प्रतिवद्धता गर्दछु ।’’
कार्यक्रममा उपप्रमुख थापा सहित प्रहरी नायव उपरीक्षक (डिएसपी) किसोर लम्लास, सशस्त्र प्रहरी बल, नारायण नगरपालिका १ का वडाअध्यक्ष सन्देश श्रेष्ठ लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।