रुकुम पश्चिम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका १ निवासी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिाक ५ टटेला निवासी ३० वर्षिय शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरेको हो ।
गत शुक्रबार राती बुढाथोकीको हत्या भएको थियो भने भोलिपल्ट मात्र उनको शव घरमै फेला परेको थियो । प्रहरीले सोमबार बेलुका पत्रकार सम्मेलन गरेर घटनाका संलग्न भएको आरोपमा दुई जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभा कुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनसायले ढुंगाले कन्चटमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेर बोहराको एक थान मोबाईल, एक थान पोते, एक थान सुनको सिक्रि, एक थान तिलहरी, एक जोडि कानबाली र एक थान चन्द्रमा लुटेको प्रमाण प्रहरीेले फेला पारेको छ । यसका साथै प्रहरीले रगत लागेको अवस्थामा रहेको ढुंगा समेत बराबद गरेको छ ।
लुटिएका सुनका गहना खलंगा बजारमा सुनचाँदि व्यवसाय गर्ने सोनीले बिना बिल बजार मूल्य भन्दा पचास हजार कम मूल्यमा खरिद गरेर गालेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई रहेको छ । आरोपी दुबैजनालाई प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आवराधिक उपद्र शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
शुक्रबार राती नेपालगञ्जबाट आएकी मृतककी भदैनीले घरमा ताला लगाएको र मोबाईल समेत बन्द भएको बताएपछि स्थानीय र प्रहरीले घरको ताला खोलेका थिए । त्यसबेला उनका कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो ।