सुर्खेत। कर्णाली प्रदेश सभामा आईतबार उपस्थित मन्त्रीहरुका विषयमा सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले संसदमा कटाक्ष व्यक्त गरेका छन् । उनले भने ‘सरकारले गर्ने कुरामा ध्यानदिनुपर्छ । एकदम हेर्छु मुख्यमन्त्री, अर्थमन्त्री देख्दिनँ । यसो हेर्छु पैसा नभएका मन्त्रीमात्रै बस्या देख्छु ।’
हुम्लाबाट निर्वाचित शाहीले आफ्नो भूगोलमा बाढीपहिरोले पु¥याएको क्षती र त्यहाँको अवस्थाको बारेमा सदनलाई जानकारी गराएका थिए । उनले कर्णाली विद्युत नहुँदा अन्धकार युगमा पुगेजस्तो भएकोले प्रदेश सरकारले गर्नुपर्ने काममा गम्भिर हुन भन्दै मन्त्री नभएको कुरालाई जोडेका हुन् ।
संसदको आइतबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल उपस्थित थिए । ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री राजकुमार शर्मा, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार विसी र उर्जा जलस्रोत तथा सिचाई मन्त्री उर्मिला विश्वकर्माको अनुपस्थिति थियो ।
सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला मन्त्री जिसीका अनुसार मुख्यमन्त्री शर्मा गृहजिल्ला रुकुम पश्चिम गएका छन् भने अन्य अनुपस्थित तीनै जना मन्त्री संघीय राजधानी काठमाडौं छन् ।
संसद चलिरहेको समयमा सरकारका सबै मन्त्री उपस्थिति हुनुपर्ने बाध्यकारी अवस्था त छैन । यद्यपी शाहीले सार्वजनिक महत्वका विषयमा धारणा राख्दैगर्दा सो कटाक्ष व्यक्त गरेका हुन् ।
शाहीले हुम्लाका सर्केगाडमा बाढी पहिरोले पु¥याएको क्षतीको जानकारी गराउँदै यसतर्फ उद्दारका लागि प्रदेश र संघीय सरकारको समेत ध्यानाकर्षण गराए । ‘स्कुलका अवस्था त्यस्तै छन् । कृषि पनि त्यस्तै छ । धान बाली गयो । धान त गयो माटो पनि गइगयो । ल्याएर माटो थुपार्ने ठाउँ पनि छैन’ उनले भने, ‘पहिले पश्चिम कमाण्ड हुँदा तीन ठाउँमा (सुर्खेत, विराटनगर र काठमाडौं)मा उद्दार कार्यका लागि हेलिकप्टर खटिन्थ्यो । कम्तिमा २–३ महिनाको लागि एमआई १७ हेलिकप्टर सुर्खेतमा उद्दारका लागि राख्न संसद मार्फत प्रदेश सरकारमार्फत पहल गर्न अनुरोध गर्दछु ।’
प्रकोप व्यवस्थापन गर्न तर्फ ध्यान दिन समेत सचेत गराए । उनले उक्त बाढी पहिरोमा मानवीय, पशुवस्तुको क्षती नभएको उनले संसदलाई जानकारी गराए ।
एकीकृत वस्ती विकासको अवधारणा अनुसार सहज स्थानान्तरण गर्ने विषयमा गम्भिर हुन बताए ।
सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा शुक्रबार राति ठूलो पहिरो गएको थियो ।