सुर्खेत । जाजरकोटमा अन्तर पार्टी महिला सञ्जाल सक्रिय बन्न थालेको छ । केही वर्ष निस्क्रिय बनेको सञ्जालले अहिले जिल्ला र स्थानीय तहहरुमा कार्यसमिति गठन गर्दै सक्रियता बढाएको हो । विक्रम सम्वत २०७० सालमा जाजरकोटमा पहिलो पटक सञ्जाल गठन भएको थियो ।
नेपालको राष्ट्रिय राजनीतिको मूल प्रवाहमा रहेका दलबाट महिला प्रतिनिधित्व हुनेगरी अन्तरपार्टी महिला सञ्जाल गठन भै विभिन्न क्रियाकलाप गर्दै आएको छ । मुलुकको संघीय संरचना पछि सञ्जालको जिल्ला र स्थानीय तहमा समे सांगठिनक संरचना निर्माण हुन थालेका छन् । त्यसअनुसार जाजरकोटका स्थानीय तहमा पनि कार्यसमिति गठन गरिएको जिल्ला अध्यक्ष रामछाँयाकुमारी शाहीले बताईन् ।
शाहीका अनुसार सात स्थानीय तह रहेको जाजरकोटका जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा कार्यसमिति गठन भएको छ । अध्यक्ष शाहीका अनुसार छेडागाडमा अध्यक्षमा नैनसरा सिहं, उपाध्यक्ष डिल्ली चनारा र सचिव विष्णु खड्का राउत पदाधिकारी रहेको कार्यसमिति गठन भएको छ ।
शिवालयमा अध्यक्ष अमृता बुढा, उपाध्यक्ष लक्ष्मी रेग्मी पदाधिकारी रहेको कार्यसमिति र जुनीचाँदे गाउँपालिकामा अध्यक्ष तुल्क्षीदेवी शाही, उपाध्यक्ष अमृता नाथ, र सचिव सीता बस्नेत पदाधिकारी रहेको कार्यसमिति गठन भएको जिल्ला अध्यक्ष शाहीले बताईन् ।
कार्य समिति गठन गर्ने जिल्लागत अभियान अन्तरगत पहिलो चरणमा तीन वटा पालिकाको कार्यसमिति गठन गरिएको शाहीले बताईन् । उनका अनुसार अब दोस्रो चरण अन्तरगत जिल्लाका बाँकी रहेका स्थानीय तहहरुमा कार्यसमिति गठन हुनेछ ।
महिला सञ्जालले महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम, न्यायीक सम्पादनमा सहजीकरण, बहुविवाह, बालविवाह लगायतका कुरामा पीडितको न्यायका लागि पहलका कामहरु गर्दछ ।