सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरुको नियुक्ति रोकिएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले तीन जना मन्त्री सिफारिस गरिसकेपनि मुख्यमन्त्री राजकुमार शर्माले भने अपरान्ह ५ः३० बजेसम्म नियुक्ति गरेका छैनन् ।
नेता शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसीलाई मंगलबार सिफारिस गरेका थिए ।
मन्त्री सिफारिसको २४ घण्टा पुग्दासम्म मुख्यमन्त्री शर्माले नियुक्ति गरेका छैनन् । सत्तासाझेदारी दलहरुबीच दलको नेताको सिफारिसमा मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्ने प्रचलन छ । मुख्यमन्त्रीको नियुक्ति पछि प्रदेश प्रमुखले ती मन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ ।
मन्त्री नियुक्तिको प्रक्रिया कांग्रेस केन्द्रीय नेतृत्वको दवावमा रोकिएको चर्चा पनि भैरहेको छ ।
संसदीय दलको नेताले सिफारिस गरिसकेपछि त्यसलाई नै अन्तिम मानेर मुख्यमन्त्रीले नियुक्ति गर्नुपर्ने हो । तर, उनले केन्द्रीय नेताको दवावमा प्रक्रिया अघि बढाएका छैनन् भने नेता शाहीसँग पनि कुनै परामर्श गरेका छैनन् ।
‘मैले सिफारिस गरेको यति समयसम्म उहाँले (मुख्यमन्त्रीले) मन्त्री नियुक्त गर्नुभएन । कारण मलाई थाहा छैन । पार्टीको कुरालाई मैले फेस गर्ने हो । उहाँले मैले गरेअनुसार काम गर्नुपर्ने हो ।’ शाहले भने ।
केन्द्रीय दबाव परेको हो ?
नेपाली कांग्रेसको विधान अनुसार प्रदेश सरकारमा सहभागी हुने वा नहुने सैद्धान्तिक निर्णय गर्ने अधिकार पार्टीको प्रदेश कार्यसम्पादन समितिमा हुन्छ । त्यसअनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
समितिले विधान अनुसार पार्टीको मर्यादाक्रम, भौगोलिक क्षेत्र, पार्टीप्रतिको योगदान, समावेशीता लगायतका विषयलाई ध्यानमा राखी मन्त्री सिफारिस गर्न संसदीय समितिलाई निर्देशन दिएको थियो ।
मंगलबार सिफारिस भएका तीन जना जिल्ला तहका नेता हुन् । तीमध्ये पोखरेल सुर्खेतका पार्टी सभापति, सिंह जाजरकोटका पार्टी सभापति र विसी दैलेखका पूर्व पार्टी सभापति हुन् । सांसद राजीव विक्रम शाह र जानकी सिंह केन्द्रीय सदस्य छन् । तर, उनिहरु मन्त्रीको सिफारिसमा परेनन् ।
पार्टीभित्रको मर्यादालाई ख्याल नगरी मन्त्री सिफारिस गरिएको भन्दै शाहले असन्तुष्टी व्यक्त गरेका छन् । उनि मन्त्री सिफारिसको केहीबेरमै केन्द्रीय राजधानी काठमाण्डौं तर्फ गएका थिए ।
‘पार्टीको मर्यादालाई ख्याल गरिएन । मलाई चित्त बुझेन भन्ने गुनासो पार्टी नेतृत्वमा राखेको हुँ ।’ शाहले भने, ‘केन्द्रीय नेतृत्वले नियुक्ति रोक्न लगायो वा के ग¥यो म त्यसको जानकार छैन ।’
पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चुनावी सभाका लागि तनहुँ आएका छन् । उनिहरु काठमाडौं फर्किएपछि निश्कर्ष आउने पार्टी केन्द्रीय नेताहरुको बुझाई छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाश सरण महतको मुख्यमन्त्री शर्मालाई आएको टेलिफोनपछि नियुक्ति प्रक्रिया रोकिएको स्रोतको दाबी छ ।
उता, मुख्यमन्त्री कार्यालयले भने दलित आन्दोलनका कारण त्यसतर्फ काम गर्न नसकिएको बताएको छ ।