सुर्खेत । ‘सुर्खेतबाट घर जाँदै थिएँ । जहरेबाट घरको लागि अटोमा चढेँ । अटो चालकसँगै अर्काे केटा पनि थिए । उनिहरुले बाटोमै मलाई चक्लेट दिए । खाएको केही बेरमा मलाई रिङ्गाटा लाग्न थाल्यो । भेरी किनारमा लिई झोल खुवाएर पानीमा फालिदिए । अनि म बेहोसी भएँ’ नाबालिकले शिलापेपरकर्मीलाई सुनाईन् ।
भोलीपल्ट मात्रै होस खुलेपछि घरमा आमालाई फोन गर्न सकिएको उनले बताईन् । ‘पानीको छेउमा घोप्टो फालिएको रैछ । अलि–अलि होस् आयो । घर फोन गरेँ । ममीलाई जानकारी गराएँ । घर पुगेपछि पनि हातखुट्टा साँघुरियो श्वास फेर्न गाह्रो भयो ।’ उनले भनिन् ।
अटो चालक र उनका साथीले आफुलाई जवरजस्ती करणी गरेको उनको आरोप छ । उनका अनुसार गुमीका स्थानीय अन्दाजी २५ वर्षीय विवश घर्तीमगर र उनका साथीले उनिमाथी करणी गरेका हुन् । १७ गते सुर्खेत आएकी उनी १८ गते घर फर्किने क्रममा यस्तो क्रियाकलाप गरिएको बताईन् ।
केहीदिन अगाडी पनि विवशले पीडितलाई जवरजस्ती करणीको प्रयास गरेका थिए । ‘दिदिको घर जाँदा पहिला पनि जवरजस्ती करणीको प्रयास गरेको थियो । त्यसपछि दिदिको घर गएको छैन ।’ उनले भनिन् ।
पीडितको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको उनका दाईले बताए । ‘बेला–बेलामा चक्कर लाग्छ भनिरहेकी छिन् । प्रदेश अस्पताल सुर्खेतमा थप उपचार भैरहेको छ ।’उनका दाईले भने, ‘१८ गते घटना भएपनि उनको हिजो (२० गते)सम्म होस् सामान्य अवस्थामा थिएन । होस आएपछि सबै कुरा परिवारलाई भनिन् आज (मंगलबार) मात्रै प्रहरीकोमा गएका हौं ।’
मेहेलकुना अस्पतालको रिफरमा प्रदेश अस्पताल सुर्खेतको उपचारपछि उनले सामान्य जानकारी दिन सकेकी पीडितका दाईले बताए ।
ईलाका प्रहरी कार्यालय छिन्चुका अनुसार आरोपीत दुई जना विरुद्ध जवरजस्ती करणीको जाहेरी दिइएको छ । छिन्चु प्रहरी प्रमुख रमेश राईका अनुसार जाहेरीका आधारमा आरोपीत व्यक्तिमध्ये एक जनालाई पक्राउ गरि नियन्त्रणमा राखिएको छ । ‘एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ । अर्का व्यक्तिको पहिचान हुन सकेको छैन । थप अनुसन्धान गर्दैछौं ।’ राईले भने ।