सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि भानुपार्क हुँदै गणेशचोकसम्म वाकिङ स्ट्रिट बनाई वाकिङ स्ट्रिट फुड फेष्टिबलदेखि रोड शोसम्म सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । वीरेन्द्रनगर नगपालिका वडा नं. ६ को निर्वाचित प्रतिनिधि तथा कर्मचारीसंगको बैठकमा संघले बजार क्षेत्रको व्यापार र रौनक कायम राख्न यस्तो अवधारणा अघि सारेको हो ।
वीरेन्द्रचोकदेखि पिपल चौतारा हुँदै भानुपार्कबाट गणेशचोक पुलसम्म सवारीसाधनलाई प्रवेश निषेध गरी सडक वरपर विभिन्न परिकारका खानाका पसल तथा स्टल राख्ने र ठाउँ ठाउँ नाचगानसहितका प्रस्तुति रहने अवधारणा संघको छ ।
यसबाट साँझको समयमा सपरिवार डुल्दैघुम्दै विभिन्न परिकारको स्वाद लिनपनि मिल्ने, हराउँदै गएको पिपलचौतारा र गणेशचोकको व्यापारिक माहोल फेरि फर्किने संघले विश्वास लिएको छ । वाकिङ स्ट्रिट र स्ट्रिट फुड फेष्टिबलका लागि आवश्यक नीति नियम र पूर्वाधार तयार गरिदिन नगरपालिकालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै वीरेन्द्रनगरको फोहोर र ट्राफिक व्यवस्थापनका लागि पनि वडा कार्यालयसंग मिलेर संयुक्त अभियान सञ्चालन गर्ने निर्णय भएको छ । ट्राफिक तथा सवारी व्यवस्थापनका लागि वीरेन्द्रनगर भित्रका साँघुरा र अति व्यस्त रहने सडकहरुलाई वन वे बनाउने, उपयुक्त ठाउँमा पार्किङका लागि पूर्वाधार बनाउन पहल गर्ने निर्णय भएको छ ।
बजार क्षेत्रमा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न फोहोर संकलन गर्ने गाडीलाई नियमित गराई आवश्यक्ता अनुसार संख्या र पालो बढाउने सहमति भएको छ । यस्तै बजारमा जथाभावी फालिने फोहोर व्यवस्थापनका लागि वृहत अभियान सञ्चालन गर्न वडा सदस्य कृष्ण श्रेष्ठ र संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार वस्नेत सहसंयोजक रहेको समिति गठन गरिएको छ ।
पिपल चौतारीमा हुने सार्वजनिक कार्यक्रमहरुका कारण आसपासका विद्यालयको पढाईका साथै सवारी आवागमनमा समेत समस्या हुने भएकाले खुला सभासम्मेलनका लागि घण्टाघरदेखि पश्चिमको खुला स्थानलाई प्रयोग गर्न सुझाव पनि बैठकले दिएको ।
यसैगरी बजार क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न अत्याधुनिक सीसी क्यामेरा जडानका लागि नगरपालिकालाई आग्रह गर्ने र बैंक तथा पसलहरुमा राखिएका सीसी क्यामेरालाई बजार क्षेत्रको पनि निगरानी गर्न मिल्ने गरी जडान गर्ने सहमति भएको छ ।
बैठकमा वडाध्यक्ष जनक रावल र संघका अध्यक्ष लक्ष्मण कंडेल लगायत दुबैपक्षका पदाधिकारीहरुको सहभागिता रहेको महासचिव भद्र भण्डारीले जानकारी दिए ।