सुर्खेत। नेकपा एमालेका सथायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सत्ता गठबन्धन एक हुँदा पनि एमालेले सुर्खेतका सबै क्षेत्रमा जित हासिल गर्ने दाबी गरेका छन्। सुर्खेतको निर्वाचन क्षेत्र नं. १ को समन्वय कमिटी बैठकमा कँडेलले यस्तो बताएका हुन्।
‘केही कठिन पक्कै होला तर, म असम्भव भने देख्दिन,’ कँडेलले अगुवा नेताहरुलाई निर्देशन दिँदै भने, ‘तपाईंहरु आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुस्, सत्तारुढ गठबन्धनसँग एक्लै जुध्नसक्ने सामथ्र्य एमालेको छ।’ अहिले गठबन्धन सरकारले जनताको हितमा काम नगरेकाले पनि एमालेप्रति जनताको आशा र भरोसा बढ्दै गएको उनले बताए।
सम्बोधनमा नेता कँडेलले एमालेका कमिटीहरू व्यवस्थित, सक्रिय र प्रभावकारी बन्नुपर्ने खाँचो रहेको औल्याए। पार्टी कामलाई गति दिन कार्यशैलीगत कमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो। आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न केन्द्र, प्रदेश र स्थानीय कमिटीका नेताहरूलाई उनले निर्देशन दिए।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ समन्वय कमिटीका संयोजक एवम् पार्टी जिल्ला सचिव कबिन्द्रकुमार केसीको अध्यक्षतामा भएको बैठकले कमिटीहरू क्रियाशील बनाउने, सदस्यता नवीकरण र आउँदो चुनावका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्नेलगायतका विभिन्न निर्णय गरेको छ।
समन्वय बैठकमा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्लाका पदाधिकारी तथा स्थानीय कमिटीका नेताहरुको उपस्थिति रहेको थियो।