सुर्खेत। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकिएको छ। २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि सकिएको हो। प्रदेश वा संघमा सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार माओवादीले लामालाई मन्त्रीमा सिफारिस गरेको थियो।
हुम्लाका उनी तिब्बतबाट मूर्ती चोरी गरेर सजाय पाएका व्यक्ति हुन्। सजाय पाएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णालीमा लामो समय प्रदेश सरकार र माओवादीको आलोचना भएको थियो। लामाको पदावधि सकिएपछि उनको ठाउँमा माओवादीबाट नै मन्त्री बन्ने भएका छन्।
नेकपा माओवादी केन्द्रले उद्योग मन्त्री अब कसलाई बनाउने भन्ने विषयमा सोमबार नै छलफल पनि गरेको थियो। छलफलबाट निश्कर्ष भने निस्किएन। संसदीय दलले नाम सिफारिस गर्ने जिम्मा नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ।
कर्णालीमा माओवादीका ११ जना सांसदमध्ये मन्त्री बन्न बाँकी जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका बिरबहादुर शाही छन्। स्रोतका अनुसार उनीहरु तीन जनामध्येबाट नै एकजना खाली भएको मन्त्रालयमा नियुक्त हुनेछन्।