काठमाडाैं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्। उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन्।
भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए।
यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए।
जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका छन्। केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुने जनाइएकाे छ।
भट्टराईले आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।
उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ।
गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।
भट्टराईको सचिवालयका एक सदस्यका अनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी छ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाट जितेका थिए।
जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। यादवले भने भट्टराईले पार्टी कब्जा गर्न खोजेकोले संघीय परिषद अध्यक्षबाट निकालिएको दाबी गर्दै आएका छन्।