सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक पारित गर्नु राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले उचित नभएको बताएका छन्। आइतबार विहान पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
‘नेपाली चेलीहरु भारतमा बिहे गर्दा उनीहरुले त्यहाँको नागरिकता पाउनको लागि सात बर्ष लाग्छ, तर भारतीय चेलीहरु नेपालमा विहे गरी आउँदाखेरी तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु भनेको दुई देशबीचको असमानता सिर्जना गराउनु हो,’ उनले भने, ‘यस्तो कुरालाई अझ संसदमा राख्ने कुरा राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले पनि उचित होईन।’
महासचिव पोखरेलले नागरिकता विधेयक हतारमा पारित गर्नु सरकारको नलायकीपन भएको बताए। उनले नेपाली चेलीहरुले अन्याय ब्यहोर्नुपर्ने प्रबन्ध पाँच दलीय गठबन्धनको सरकारले गरेको टिप्पणी गरे।
महासचिव पोखरेलले नागरिकता विधेयक नेकपा सरकारमा रहँदाकै वखत प्रस्तुत भएको र राज्य व्यवस्था समितिमा झण्डै दुई बर्ष छलफल भएर निश्कर्ष निकालेको बताए। राज्य व्यवस्था समितिले निकालेको निश्कर्षलाई फिर्ता गरी नयाँ विधेयक प्रस्तुत गरेर पारित गर्नुले एकप्रकारको असन्तुलन पैदा गरेको उनको भनाई छ।