काठमाडाैं। जुम्लाबाट पाँचथरकाे फिदिम नगरपालिकामा दुग्ध व्यवसाय गर्दै आएका महेन्द्र हमाल फरार भएका छन्। फिदिम नगरपालिकाका किसानको करोडौं रकम ठगेर उनि फरार भएका हुन्।
उनले फिदिम-३ लालिखर्कमा कनकासुन्दरी नामक दुग्ध डेरी सञ्चालन गर्दै आएका थिए। माल साउन ४ गते फरार भएका हुन्। उनले फिदिम नगरपालिका २, ३, ७, ८, १४ सँगै फाल्गुनन्द गाउँपालिका ३ र ४ का १ हजारभन्दा धेरै किसानले उत्पादन गरेको दूध खरिद गर्दै दुग्धजन्य वस्तु उत्पादन गर्दै आएका थिए।
पछिल्लो समय फिदिमस्थित करदाता सेवा कार्यालयबाट कनकासुन्दरी डेरी उद्योगका नाममा ८१७८३१४८४ नम्बरको प्यान लिएर कारोबार गर्दै आएका उनी साउन ४ गते बिहान ११ बजे छोरी र श्रीमतीसहित सदरमुकाम जाने बहानामा फरार भएको भन्दै किसानहरूले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दर्ता गराएका छन्।
हमालले सञ्चालन गर्दै आएको डेरीका कर्मचारी सुरेन्द्र राईका अनुसार असार महिनामा हमालले यस क्षेत्रका किसानबाट ६५ लाख रुपैयाँको दूध खरिद गरेका थिए। उनले खरिद गरेको दूधबाट उत्पादन गरेको घ्यु र छुर्पीसहितका दुग्ध उत्पादन फिदिममा सञ्चालित सिदिन डेरीमा बिक्री गर्ने गर्थे।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) राकेश थापाले व्यवसायी र किसानले दर्ता गराएको निवेदनका आधारमा घटनाको अनुसन्धान र अभियुक्तको खोजी कार्य सुरु भएको बताँउछन्।