काठमाडाैं । नेकपा एमालेले ३० वैशाख ०७९ को स्थानीय तह चुनावमा अनपेक्षित अनुभव गर्यो । एकातिर पार्टी विभाजन अर्कोतिर कांग्रेस नेतृत्वको माओवादी, एकीकृत समाजवादी, जसपासहित पाँ दलीय गठबन्धनको मार खेप्न पुगेको एमालेका लागि ३० वैशाखको चुनावले त्यतिबेला ठेस पुर्यायो, जतिबेला कार्यकर्ताहरूले क्रस भोटिङ गरेको भेउ पायो ।
अर्थात् एमालेका नेताहरूले यो चुनावमा अन्तर्घातको नमीठो अनुभव भोगे । गठबन्धन र पार्टी विभाजनको मारभन्दा पनि ठूलो मार एमालेले यही अन्तर्घातबाट व्यहोर्नुपर्यो । पोखरा, काठमाडौं, भरतपुर, वीरगञ्जलगायतका महानगरमासमेत एमालेको क्रस भोटिङ भएको थियो । अन्य पालिकाहरूमा पनि त्यही रोग संक्रमित भएको देखिएपछि एमालेले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चुनावी समीक्षा गरेको थियो ।
रिमाल नेतृत्वको उक्त कमिटीले समग्र अध्ययनमार्फत प्रतिवेदन तयारसम्म गर्यो तर त्यसलाई सार्वजनिक भने गरिएन । त्यसको खास कारण त अहिलेसम्म खुलेको छैन । स्वयम् रिमाल पनि त्यसबारे थप बोल्न चाँहदैनन् । एमाले स्रोतका अनुसार रिमाल नेतृत्वको अध्ययन कमिटीले एमालेभित्रको अन्तर्घातको डरलाग्दो चित्र उतारेको छ । त्यसले आउने संघ र प्रदेशको चुनावसमेत प्रभावित हुनसक्ने खतरा पनि प्रतिवेदनले औँल्याएको छ ।
एमाले स्रोतको दाबीअनुसार उक्त प्रतिवेदनले करिब ५० हजार एमाले कार्यकर्ताले क्रस भोटिङ गरेका छन् । रिमाल नेतृत्वको उक्त कमिटीले निकालेको निष्कर्षअनुसार एमाले पराजित हुने कारणमध्ये एउटा त्यही अन्तर्घात हो । चुनाव मतपरिणाम सार्वजनिक भइरहेका बेला नै अध्यक्ष ओलीको निर्देशनमा देशभरको रिपोर्ट लिने र आन्तरिक समीक्षामार्फत कमजोरी केलाउने प्रयास भएको थियो । त्यसरी ठूलो संख्यामा अन्तर्घात गर्ने वा क्रस भोटिङ गर्ने नेता कार्यकर्तालाई कस्तो कारबाही गर्ने ? भन्ने समस्यामा एमाले फसेको छ ।
त्यसरी पार्टीका उम्मेदवार हराउन सक्रिय भएका नेता कार्यकर्तालाई कारबाही गर्ने हो भने आउने संघ र प्रदेशको चुनाव पनि प्रभावित हुने डर एमालेमा देखिएको छ । अन्तर्घातको आरोप वरिष्ठ नेताहरूमाथि नै लागेको छ । पोखरा महागरपालिकामा मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन लागेकाे आराेप उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेता दीपक पौडेलसहितका नेताहरूमाथि छ ।
सँगको कुराकानीमा उपमहासचिव रिमालले अध्ययन कमिटी बनेको र प्रतिवेदन पनि तयार भएको तर पार्टीले सार्वजनिक नगरेको बताए । उनले भने, ‘कमिटीले प्रतिवेदन तयार गरेको थियो तर अहिलेसम्म सार्वजनिक गरिएको छैन । सार्वजनिक भएछ भने तपाईंलाई खबर गरौँला ।’
पार्टीका नेताहरूमाथि नै अन्तर्घातको आरोप लागेका बेला चुनाव सकिएलगत्तै नेता घनश्याम भुसालले हिमालय टिभीको यक्ष प्रश्नमार्फत अध्यक्ष ओलीविरुद्ध ‘विषवमन’ गरेका थिए । एमालेको १०औँ महाधिवेशनलाई सौराहकाण्डका रूपमा व्याख्या गरेका भुसालले त्यतिबेला अघोषित रूपमा ओलीले राजीनामा दिनुपर्ने आशय झल्काएका थिए । त्यतिमात्र होइन, कानुनी रूपमा एमाले भए पनि राजनीतिक रूपमा नेकपा नै हो भनेर भुसालले एमालेमाथि थप प्रश्न उठाएका थिए ।
त्यही प्रसंगमा एमालेको अनुशासन आयोगले भुसालमाथि कारबाही गर्ने निर्णय पनि गरेको थियो । अन्तर्घातपछि भुसाल प्रकरण चर्किएकै बेला १९ असारको एमालेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अर्को कार्यदल बनाएको छ । उक्त कार्यदलमा देवेन्द्र पौडेल र खगराज अधिकारी सदस्य छन् ।
यो कार्यदलको प्रतिवेदनको काम भनेको चुनावमा धेरै स्थानमा नेताहरूले नै आफूले इच्छाएका व्यक्तिले टिकट नपाएपछि अन्तर्घात गरेको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको र त्यसको निरुपण गर्न कार्यदल गठन गरेको एमालेको भनाइ छ । तर, यो कार्यदलको खास मक्सद चाँहि अघिल्लोपटक रिमाल नेतृत्वको कमिटीको प्रतिवेदनमा आएको निष्कर्षलाई कसरी सम्बोधन गर्ने भन्ने हो ।
एमाले स्रोतका अनुसार अन्तर्घातको नाममा नेता कार्यकर्तालाई कारबाही गर्दै जाँदा ५१ हजारलाई कारबाही गर्नुपर्ने हुन्छ । अनि अर्को चुनावको मुखमा कसले कसलाई कारबाही गर्ने ? त्यसैले यो कार्यलको काम ती उजुरी ढिसमिस बनाउन गठन गरिएको टिप्पणी भइरहेको छ । (साभारः शिलापत्र)