काठमाडाैं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठनपाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा पठनपाठन सुरू गरिएकाे हाे ।
विद्यालयले चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन गराएकाे हाे ।
तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले जानकारी दिइन् । उनले चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठनपाठन सुरु गर्ने तयारी गरिएको बताइन्।
लोपोन्मुख बनेको भाषाको संरक्षण र संवर्द्धनका लागि तिलुङ भाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा त्यही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । अहिलेसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको छ।