सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले वीरेन्द्रनगर घोषणापत्र जारी गरेको छ। जिल्ला कार्य समिति र वीरेन्द्रनगर नगर कार्यसमितिको तर्फबाट चुनावी घोषणापत्र जारी गरिएको हो।
घोषणापत्रमा घरदैलोमै स्वास्थ्य सेवादेखि नगर यातायात सञ्चालनको प्रतिबद्धता समावेश गरिएका छन्।
स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा उपलब्ध, विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था, प्रत्येक वडामा मासिक रुपमा स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य संस्थासम्म आउन नसक्नेहरुका लागि निजी क्षेत्रसँगको सहकार्यमा होम केयरको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ।
यस्तै नगरपालिकाका सबै परिवारको स्वास्थ्य बीमा गर्ने, सुत्केरी महिलालाई एक हजार रुपैयाँ सुत्केरी सहायक भत्ताका रुपमा उपलब्ध गराउने, नगर अस्पतालमार्फत जेष्ठ नागरिकहरुको निशुल्क उपचार गर्ने, महिला स्वास्थ्य स्वयम्सेवीकालाई आफ्नो सेवा क्षेत्रभित्रका नागरिकहरुलाई मौसमअनुसार लाग्ने स्वास्थ्य शिक्षा महिनामा एक पटक दिने, निशुल्क सवबहानको व्यवस्था गर्ने प्रतिबद्धता पनि नेपाली काँग्रेसले आफ्नो घोषणा पत्रमा गरेको छ।
असल शासन र जवाफदेहितातर्फ प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गर्ने, हरेक महिनाको ७ गते नगर कार्यपालिकाको अनिवार्य वैठक बस्ने, वैठकको जानकारी आम नागरिकसम्म पु¥याउने, आयोजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण अनिवार्य गर्ने, नागरिकबाट प्राप्त गुनासो अभिलेखीकरण गर्ने र कारबाहीको लागि छुट्टै संयन्त्र निर्माण गर्ने, जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र निर्माण गर्ने प्रतिबद्धता गरिउको छ।
अपांगता भएको, फरक क्षमता भएका, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी मानिसका लागि घरदैलोमै सेवा उपलब्ध गराउने।
शिक्षा, युवा तथा खेलकुदतर्फ सार्वजनिक विद्यालयमा पढाईको गुणस्तरमा सुधार गर्दै भौतिक पूर्वाधार सम्पन्न बनाउने, विद्यालयमा निर्माण हुने संरचना अपाङ्गतामैत्री र लैङ्गिकमैत्री बनाउने, प्रत्येक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरुलाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पु¥याउनका लागि ‘सिकाई मेला’ सञ्चालन गर्ने, विद्यार्थीहरुको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’का रुपमा आमन्त्रण गर्ने प्रतिबद्धता जनाईएको छ।
विभिन्न पेशा र व्यवसायमा संलग्न स्थानीय र राष्ट्रिय व्यक्तित्वहरुलाई विद्यार्थीसँग जोड्नका लागि ‘विद्यालयमा एक दिन’ कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयन गर्ने, प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था, जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको विद्यालय सहयोगी समूह गठन गर्ने प्रतिबद्धता पनि गरिएको छ।
कृषितर्फ एक टोल, एक कृषि उपज संकलन केन्द्र निर्माण, कृषि उपजको विक्री वितरणका लागि हाट बजारको व्यवस्था, पालिकाभित्रका किसानका गाई–भैंसी दर्ता गर्ने, गाई–भैंसी व्याएपछि चारा स्वरुप एक हजार रुपैयाँ उपलब्ध गराउने, वीरेन्द्रनगरलाई मासुमा आत्मनिर्भर बनउने, कृषकको सूचिकरण र वर्गीकरण गर्ने, किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउने, बाँझो जग्गा भाडामा लिएर युवाहरुलाई सामूहिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाईएको छ।
एक वडा, एक उद्यमशील केन्द्रको अवधारणा कार्यान्वयन, वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्ने, रोजगार बैंकको स्थापना, स्थानीय रोजगारी सृजना गर्ने उद्योगहरुलाई निश्चित प्रतिशत स्थानीय कर छुटको व्यवस्था गर्ने, मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ।
वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गर्ने, मुख्य पर्यटकीय क्षेत्रहरुमध्ये बुलबुलेदेखि कांक्रेविहार जोड्ने ‘सर्किट’ निर्माण गर्ने, बुलबुले, कांक्रेविहार, देउतीबज्यै, सहिदपार्क, पाताल दरबारलगायतका पर्यटकीय एवम् विभिन्न वडामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्दै गोठीकाँडा, अमृताडाँडा, शिद्धपाइला, भ्यूचुला, रानीघाट, रातानाङ्लालगायतका पर्यटकीय गतिविधि धेरै हुने क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पर्यटनतर्फ गरिएको छ।
पर्यटन सुचना केन्द्रको स्थापना तथा सञ्चालन, पर्यटकीय क्षेत्रहरुको गाइड बुक प्रकाशन, भईरहेका होमस्टेहरुको प्रभावकारी व्यवस्थापन गर्दै सम्भाव्य स्थानमा होम–स्टे स्थापना र सञ्चालनको व्यवस्था मिलाउने, होम–स्टे सञ्चालकहरुलाई अंग्रेजी भाषा तालिम, सरसफाई र सुरक्षासम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि काँग्रेसको वीरेन्द्रनगर घोषणापत्रमा गरिएको छ।
वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्ने, सुरक्षाका लागि सार्वजनिक यातायातमा सिसी क्यामरा जडान अनिवार्य गर्ने, अटो भिलेजको निर्माण गर्ने, दीगो सहरी यातायात नीति कार्यान्वयन गर्ने, दीगो सहरी व्यवस्थापनको लागि सडकहरुलाई अपांगमैत्री र वातावरणमैत्री बनाउने, उपत्यकाभित्रका सडकहरुमा साइकल लेनको व्यवस्थालगायतका प्रतिबद्धता वीरेन्द्रनगरको चुनावी घोषणापत्रमा काँग्रेसले गरेको छ।
वीरेन्द्रनगरमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गरिएको छ। काँग्रेसबाट मेयर र माओवादीबाट उपमेयर पाउनेगरी तालमेल गरिएको छ। वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट उपेन्द्र खड्का मेयर पदका उम्मेदवार छन्।