पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ ।
‘अहिले कुनै–कुनै ठाउँमा साना–साना पहिराहरु छन् । त्यो पन्छाएपछि पश्चिमतिर जाने बाटो क्लियर हुन्छ अनि थप पानी पर्ने सम्भावना नभएको जानकारी आएकाले गाडी चल्न दिइने छ,’ मन्त्रालय स्रोतले जनाएको छ ।
बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम रोकिएको र ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको जानकारी दिए ।
आजै दिउँसोबाट पूर्वी क्षेत्रबाट पनि वर्षा गराउने प्रणाली निष्कृय हुने सम्भावना रहेको उनले बताए । ‘हामीले पूर्वानुमान गरिएभन्दा छिटो मौसम सफा हुँदै गएकाले पूर्वको तुलनामा पश्चिमतर्फ यातायात सञ्चालन गर्ने मौसम अनुकूल हुँदै गएको जानकारी सम्बन्धित निकायलाई दिइसकेका छौं,’ पराजुलीले भने ।
सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।
अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको अान्तरिक हवाइ उडान भने अाज बिहानैबाट सुरू भइसकेको छ ।
काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जन जीवन सामान्य बन्दै गएको छ ।